भैरहवा विमानस्थलमा भुक्तानी रोक्ने एडीबीको चेतावनी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

भैरहवा विमानस्थलमा भुक्तानी रोक्ने एडीबीको चेतावनी



पत्रपत्रिका-

गौतम बुद्ध विमानस्थलको क्षमता विस्तार आयोजनामा काम गरिरहेको चिनियाँ कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै ऋण दाता एसियाली विकास बैंकले ठेक्का सम्झौता तोड्न दबाब दिइरहेका बेला नागरिक उड्डय प्राधिकरणले भने उक्त कम्पनीलाई अझै एक वर्षसम्म मौका दिने भएको छ।

ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सले विमानस्थल निर्माण सोचेअनुरुपको प्रदर्शन नगरेको भन्दै एसियाली विकास बैंकले क्यानलाई ठेक्का सम्झौता तोड्न दबाब दिइरहेको छ। २०१७ को डिसेम्बरदेखि भुक्तानी पनि रोेकेको छ।

एडीबीको प्रतिनिधि मण्डलले गएको बिहीबार स्थलगत अध्ययन गरेर आजसम्मको प्रगति सन्तोषजनक नभएको भन्दै भुक्तानी खुल्ला नगर्ने अडानमा कायमै रहेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

ऋण तथा अनुदान सहयोग बन्द गर्ने नभने पनि निर्माणको गतिमा सुधार नभसम्म भुक्तानी नदिने एडीबीले चेतावनी दिएको छ।

एडीबीले उक्त आयोजनामा कूल ५ अर्ब ८५ अर्ब लगानी गर्ने सम्झौता गरेको छ। जसमा ४ अर्ब २७ करोड ऋण र १ अर्ब ५७ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।

तर क्यान भने उक्त कम्पनीसँग ठेक्का सम्झौता नतोड्ने अडानमा रहेको छ।

पछिल्लो तीन महिना उक्त कम्पनीले कामदार बढाएको, यन्त्रहरु पनि थप गरेको र प्रगति पनि राम्रो देखिएकोले लक्ष्य थप गरेर अझै एक वर्षसम्म निरन्तरता दिने सवालमा अर्थमन्त्रालय, सस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयसँगको छलफलपछि सबैको बुझाइ समान रहेको क्यानका महानिर्देशक संजिव गौतमले जानकारी दिए।

नर्थवेष्टसँग जेठ ४ गतेसम्मको ठेक्का सम्झौता रहेको छ।

‘पछिल्लो सयम चिनियाँ कम्पनीले राम्रै काम गरिरहेको छ उसलाई तत्काल हटाएर अर्को कम्पनी आउँदा समयमै काम हुने ग्यारेन्टी पनि छैन’ उनले भने,‘उसको काममा हामी पनि सन्तुष्ट छैनौं तर उसले पछिल्लो समय जसरी प्रगति बढाउँदै गएको छ त्यसले गर्दा पनि तत्काल ठेक्का तोड्नभन्दा पनि निरन्तरता दिनुमै हाम्रो भलाइमा छ।’

यो कम्पनीसँग ठेक्का सम्झौता रद्ध गर्दा एकातिर आयोजनाको लागत बढ्ने, समय लम्बिने भएकोले सकेसम्म जुन महिनासम्म एक चरणको टार्गेट दिने र त्यसपछि फेरि हेरफेर गरिने गौतमले जानकारी दिए।

यद्यपी अबका समयमा काम छिटो नगरेमा चिनियाँ कम्पनीसँग कुनै पनि समय सम्झौता रद्ध हुनसक्ने उनको भनाइ छ।

एडीबीले हाल भुक्तानी रोकेको भएपनि काममा प्रगति भएपछि खोल्ने आशामा सरकारी अधिकारीहरु रहेका छन्।

त्यतिगर्दा पनि एडीबीले ऋण सम्झौता भंग गरेमा स्रोतको बारेमा छलफल गरेर टुंगोमा पुगिने गौतमले जानकारी दिए। अहिलेसम्म उसले सम्झौता भंग गर्ने कुरा नगरेको उनको भनाइ छ।