‘बैज्ञानिक भाडादर कायम गर्दैनन् सवारी ब्यवसायी’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘बैज्ञानिक भाडादर कायम गर्दैनन् सवारी ब्यवसायी’



बुटवल । सरकारले कायम गरेको सार्वजनिक सवारी साधनको भाडादर बुटवल तथा यस क्षेत्रका यातायात ब्यवसायीहरुले लागु गर्न आलटाल गरेका छन् ।
सरकारले निर्धारण गरेको भाडादर कायम नगरी उनीहरुले आफ्नै समितिले तोकेको अघोषित भाडादर कायम गरेका छन ।

छाटो तथा लामो दुरीमा चल्ने बस जीपहरुका लागि सरकारले बैज्ञानिक भाडादर कायम गरेको छ ।

यस क्षेत्रमा चल्ने कुनै पनि सवारी साधनले बैज्ञानिक भाडादर लागु गरेको पाइएको छैन । पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ बस व्यवसायी संघ, देउराली यातायात, गुल्मी यातायात, पाल्पा यातायात लगाएतका यातायात व्यवसायीहरुले सरकारले तोकेको भाडादर कायम नगर्दा समेत सम्बन्धित निकाय भने बेखवर बनेको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर ०७२ लागु गरेको छ ।

नियम अनुसार बुटवलबाट काठमाडौं चल्ने बसको भाडा ४ सय ८४ रुपैया तोकिएको छ । तर व्यवसायीहरुले भने ५ सय देखि ५ सय ५० रुपैया सम्म लिने गरेका छन ।

काठमाडौं–भैरहवा–लुम्बिनी हुँदै तौलिहवा जाने भाडा ६ सय २ रुपैया तोकिएको भएपनि व्यवसायीहरुले भने ८ सय देखि ९ सय रुपैया सम्म लिने गरेका छन । त्यस बाहेक यात्रुहरुलाई बढि सुविधा व्यवसायीहरुले दिएको खण्डमा २० प्रतिशत सम्म भाडा बृद्धि गर्न सक्ने नियम छ । तर सुविधा बढि दिने सवारी साधनले पनि नियमअनुसार भाडादर लागु गरेका छैनन । छोटो दुरीमा चल्ने सवारीहरुले खुद्रा पैसा नहुँदा केही रकम बढि लिएको भएपनि आफ्ना माताहतमा सञ्चालनमा रहेका बसहरुले भने बढि भाडा नलिएको पश्चिम नेपाल बस व्यवसायी संघले जानाकारी दिएको छ । संघका कार्यबाहक अध्यक्ष गोपाल पौडेलले छोटो दुरीमा केही समस्या भएपनि लामो दुरीमा सरकारकै भाडादर लागु भएको बताए ।

लुम्बिनीबाट काठमाडौं जाने एसी बसको भाडा अहिले पश्चिम नेपाल वस व्यवसायी संघले १६ सय तोकेको छ ।

जव की २० प्रतिशत भाडा दर बृद्धि गरेपनि ११ सय रुपैया हुन आउछ । तर संघले पनि १६ सय रुपैया लिएको छ । डिलक्स बस, मिनि बस, माईक्रोबस र जीपहरुले यात्रुहरुलाई बढि सुविधा दिएमा २० प्रतिशत भाडादर थप गर्न पाउने व्यवस्था नियममा छ ।

त्यस्तै बढि सुविधा दिएका सवारी साधनहरुले बुकिङ काउन्टर र सवारीको टिकट, सवारी समेत छुटटै पहिचानको हुनुपर्ने नियममा उल्लेख छ । टिकट र सवारीको पहिचान छुटाइएको भएपनि भाडादरको समायोजनमा भने अहिले सम्म बस व्यवसायीहरुको ध्यान जान सकेको छैन । एसी, सुप्पर एसी बसमा पनि संघले सरकारले निर्धारण गरेको भाडा लागु गरेको ठोकुवा गरेपनि व्यवहारमा भने लागु भएको छैन ।

भाडादर लागु भए नभएको अनुगमन गर्ने नियमन निकाय भने गुनासो नआएको भन्दै जिम्मेवारी बाट मुक्त हुन खोजेको छ । बढि भाडा लिएको भन्दै अहिले सम्म कसैको उजुरी नआएकाले अनुगमन नगरिएको यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत केशव सुवेदीले बताए ।
२ बर्ष अघि लागु भएको भाडादर ट्याक्सीको हकमा धेरै स्थानमा लागु नभएको भएपनि केही सवारी साधनले भने भाडादर लागु गरेको उनको भनाई छ । खुद्रा पैसाकै कारणले बढि भाडा लिन नपाईने भन्दै सुवेदीले अब अनुगमन गर्ने र बढि भाडा लिइएको पाइए कारबाही गर्ने बताए ।