वातावरण बिगार्नेलाई दण्डित गर्छु – मन्त्री लालबाबु पण्डित - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

वातावरण बिगार्नेलाई दण्डित गर्छु – मन्त्री लालबाबु पण्डित



काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिन मात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा हिजाे आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने– राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नुपर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेका छन्, त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताए ।

उनले राजधानी काठमाडौँसहितका क्षेत्रमा भएको वातावरणीय क्षतिलाई आमजनताले अनुभूति गर्नेगरी न्यूनीकरण गरिने दृढता व्यक्त गर्दै भने, “वातावरणका क्षेत्रमा काम गर्दा ज्यान जोखिममा पर्ला, संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, काम गर्न आएको छु, हिम्मत लिएर आएको छु ।”

मन्त्री पण्डितले, “मानिसहरुले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन ?” भनी पटक पटक प्रश्न गरिरहेको स्मरण गर्दै काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको र यसको समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

यूएसएड नेपालका मिसन निर्देशक पिटर ए माल्नाकले पानीका स्थानीय स्रोतको उपयोग गर्ने विधि र त्यसको महत्वको मुख्य जानकार स्थानीय जनता नै हुने भएकाले सञ्चारमाध्यमले स्थानीय जनताका सरोकारलाई ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा यूएसएड नेपालको सहयोगमा नेवापसद्वारा सञ्चालन हुने जलस्रोतको संरक्षण र व्यवस्थापनको प्रवद्र्धनसम्बन्धी पानी सञ्चार अभियानको शुभारम्भ गरिएको थियो ।

उक्त अभियान अन्तर्गत कर्णाली, राप्ती र महाकाली नदी जलाधार क्षेत्रको जलस्रोतको अवस्था, जीवनपद्धति, जलाधार संरक्षणका स्थानीय असल अभ्यासजस्ता विषयमा रेडियो, टेलिभिजन र अनलाइनमाध्यमबाट प्रचारप्रसार गर्नाका साथै जलाधारको महत्व र समस्याबारे स्थानीयस्तरमा छलफल र अन्तक्र्रिया गरिने नेवापसका अध्यक्ष अर्जुन ढकालले बताए । (रासस)