हाइड्रोमा शेयर हाल्नेलाई खोजि खोजि छोरी दिने दिन ल्याउँछु : बर्षमान पुन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हाइड्रोमा शेयर हाल्नेलाई खोजि खोजि छोरी दिने दिन ल्याउँछु : बर्षमान पुन



नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् ।

माओवादी केन्द्रीय कार्यालयका वरिष्ठ सदस्यसमेत रहेका पुनले प्रधानमन्त्री केपी ओली र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकास र समृद्धिको योजनालाई मद्धत पुग्ने गरी योजना बनाएर काममा लाग्ने बताए । उनले हरेक आर्थिक वर्षमा दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा आफ्नो मन्त्रालयले उल्लेख्य योगदान गर्ने दाबी गरे ।

उनले जलविद्युत आयोजना निर्माण भइरहेका र हुने क्षेत्रका स्थानीय जनतालाई निश्चित प्रतिशत शेयर दिने गरी काम गरिने घोषणा पनि गरे । त्यसो गर्दा स्थानीयले आयोजना निर्माणमा अवरोध नभई सहयोग गर्ने र काम समयमै सम्पन्न हुने उनको भनाइ थियो । ‘पहिलापहिला जनकपुर चुरोट कारखाना र नागरिक उड्डयनका कर्मचारीलाई खोजीखोजी ज्वाईं बनाउने गरिन्थ्यो’, मन्त्री पदको सपथ लिएलगत्तै शुक्रबार मन्त्रालयमा कर्मचारीले गरेको स्वागत कार्यक्रममा पुनले भने, ‘अब हाइड्रो पावरमा शेयर भएका युवालाई ज्वाईं बनाउन हानथाप हुने वातावरण बनाउने छु ।’

मन्त्री पुनले विगतका मन्त्रीहरुले थालेका राम्रा कामलाई निरन्तरता दिने पनि बताए । विगतमा धेरै राम्रा योजनाहरु बनेको र राजनीतिक संक्रमणका कारण ती योजना कार्यान्वयन नभएको चर्चा गरे । अस्थिरताका कारण विगतमा कर्मचारीले जोखिम मोल्न डराउने गरेको भन्दै मन्त्री पुनले मुलुकका लागि जोखिम मोलेर काम गर्दा नियमनकारी निकायबाट अप्ठेरो परे आफूले संरक्षण गर्ने बताए ।