लोकमानको पैसामा वरिष्ठको रजाइँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लोकमानको पैसामा वरिष्ठको रजाइँ



काठमाडौं-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त लोकमानसिंह कार्कीका पक्षमा अदालतमा उनको सुनुवाइ अन्तिम चरणमा रहेका बेला माइतीघर मण्डलातिर खुवै नारा लागे । तर त्यो नारा स्वतःस्फूर्त लागेको नभई लोकमानले दिएको पैसाको कारण रहेछ भन्ने भर्खर खुलेको छ ।

लोकमानसिंह कार्की पदमुक्त हुने करिबकरिब निश्चित जस्तो भइसकेपछि केही सुकुम्बासी टिसर्ट लगाएर माइतीघर मण्डलामा खडा गरिए । भ्रष्टाचारविरुद्ध अभियान सुरुवात गरिएको भन्दै त्यसको अगुवाइ गर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र एक थापा थरकी महिला अग्रमोर्चामा देखिए ।

पुरानो शक्ति नेपाल नाम लिएर नयाँ पार्टी भन्दै खडा गरिएको उक्त समूहले उनै लोकमानसिंह कार्कीसँग मोटो रकम लिएको भन्दै त्यतिबेला उनीहरुबीच नै असन्तुष्टि छाएको थियो । बहुदल र गणतन्त्र आएपछि यिनै नेताहरुले भ्रष्टाचार संस्थागत गरेको भन्दै सोही पुरानो शक्तिको नाममा रत्नपार्कमा त्यसअघि केही समय नेताहरुविरुद्ध कोण सभा गने गर्ने काम नियमित जस्तै भयो ।

उक्त समूहसँग वरिष्ठ पत्रकार प्रेम कैदी पनि केही समय जोडिन पुगे पनि न्यौपानेको नियतमा खराबी देखिएपछि अलग्गिएको बताइएको छ । पछिल्लो समय लोकमान निलम्बन भएपछि झोक्राएर बसेको सो समूहले केही दिनअघि निर्वाचन आयोगमा सोही नाममा पार्टी दर्ता भने गरेको छ ।

हस्ताक्षर गर्ने मान्छे पुर्याउन नसकेपछि देशैभरिका विभिन्न मान्छेहरुको नागरिकता संकलन गरी नक्कली हस्ताक्षर बुझाएको बताइएको छ । सोही पार्टीमा बीपीपुत्र प्रकाश कोइराला, मनीषा कोइराला, रामबाबु प्रसाईँ र पीएल सिंहलगायतका व्यक्तिहरु आउने र पार्टी बृहत् हुने भन्दै प्रचारसमेत थालिएको थाहा भएको छ, खबर बुधबार साप्ताहिकमा छ ।

सो पार्टीले नयाँ दल चुनावमा उठ्न नपाउने भएपछि पहिल्यै दर्ता गरिराखेको कुनै दल अलि अलि रकम दिएर किन्न प्रयास गरे पनि अहिलेसम्म नभेटेको थाहा भएको छ । पुरानो कुनै पार्टी भेटेमा विशेष महाधिवेशन आयोजना गरी एकता गर्ने र आगामी चुनावमा उठ्ने योजना बनाएको उक्त पार्टीका एक केन्द्रीय सदस्यले बताए । आगामी शनिबार प्रज्ञा भवनमा सो पार्टीले एक भेला आयोजना गर्न लागेको थाहा भएको छ ।