बारुदको फुल ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बारुदको फुल !



बारूदको फूल !

आँखामा आक्रोश !
आवाजमा आहत !
त्यो कालो रात !
संघार नाघ्नु अघि
खसम राजैले
मुट्ठी कँस्दै भनेका थिए-
‘अब काला दिन सकिएर
उज्याला दिन आउनेछन सखी
म गणतन्त्रको बिहानी संगै
तिम्रो आँगनमा उदाउने छु !’

मलाई के थाहा, के हो गणतन्त्र ?
मलाई त यत्ति थाहा थियो-
म नवदुलही हुँ
उनी मेरा खसम हुन

बाहिर जाडो छ !
उनी संगै भइदिए
त्यही थियो मेरो गणतन्त्र !
भर्खर यौवनको जंघार टेकेकी
म कमरेडकी जहान,
मनै मनले भन्दी थिएँ
‘यी चिसा रातमा
ज्यान खाप्न मन नलाग्ने
कस्तो तातो रगत बग्ने रहेछ कमरेड तिम्रो शरीरमा ?
यो रसिलो जोबनको
आलिंगन नाप्न नखोज्ने
कस्तो अनौठो सपना बोक्दा रहेछौ कमरेड तिमीले ?’
आवाज फुटेन,
प्रश्नहरु किल्किलेमै रोकिए,
कमरेड आफ्नो बाटो लागे,
लागेपछि लागेको लागै भए !
वर्षौं भयो पर्ख़िरहेकी छु-
बाटो भरी आँखा बिछ्याएर,
खसमको लाश हैन
उनले भन्ने गरेको गणतन्त्रको बिहानी,
राता कमरेडकी
म, सेती कमरेड्नी !

देख्दैछु-
लड्ने बिलाएको छ
लुक्ने उदाएको छ !
षोडषीको कोख र
खसमको छाती
एकैपटक छेदन गरी
जन्मिएको गणतन्त्रमा
फेरि एकपटक
सामन्तले शीर उठाएको छ !
भिड त्यतै छ हल्ला तेतै छ
त्यसैले पनि दबाउन बाध्य छु
तातो आक्रोशलाई
आफ्नै सेतो परिधानको भुंग्रो भित्र
पिठ्यूँमा बोकेर वीरको निशानी
ताता कमरेडकी
म, चिसी कमरेडनी !

गरीबको सत्ता ल्याउने कुरा थिए
त्यसैले त लडेथे वर्षौंका दासहरु
ढलेथे लाशहरु !
आगोमा रगत पाकिरहेका आँखाले
देख्दैछु-
घोंडालाई रेशमा लगाएर
प्याराफिटमा बसी
‘बेटिंग’ गर्नेका उपहासहरु !
‘गाऊँ गाऊँमा शिंहदरबार पूर्याएका छौं !’
दरबारमा बसेर डुक्रिंदैछन नयाँ महाराजहरु-
हेर्न लायकको छ
ती गाउँले शिंहदरबारभित्र
‘घाम पानी,घाम पानी-स्यालको बिहे’ का अश्लील नाचहरु !

म भोग्दैछु,
छेवैमा ढलेको सहयोद्धाको लाश छोडी
भागेका ‘सुराकी-कमरेड’
अचेल गाऊँको शिंहदरबारमा
रजगज गर्छन
जन्मदर्ता माग्न गएको
पिठ्यूँको मेरो नबालकलाई
चोर औंलाले घोंचेर सोध्छन-
‘भाउजु यो केटाको बाऊ बीरबल त हो नि ?!’

तिम्रो बिऊको कसम,
हृदय तोप बन्छ बीरबल !
तर केहि बोल्दिन
बोल्नु पनि के,
यहाँ साना स्याल दरबार देखि
ठूला शिंह दरबारसम्म
यिनै ब्वाँसोको राज छ
निमुखाको लागि
यो देशको सत्ता सधै नाराज़ छ !

त्यसैले त अचेल
चुपचाप
रातो लाउन सिकेकी छु
रातै घस्न थालेकी छु
प्रत्येक साना देखि ठूला
शिंहदरबारको आँगनमा
राता फूल फुलाउने सपना पालेकी छु !

आक्रोशले हैन
आवेगमा हैन
कोमलता पूर्वक
मुसुक्क हाँसेर
प्रत्येक शिंहदरबार र स्याल दरबार वरिपरी
रातैराता फूल फुलाउनेछु एकदिन !
फरक यत्ति हो,
ती प्रत्येक गमलामा
अलिकति मेरो देशको माटो
अलिकति अपहेलनाका आंशु
र अलिकति
मेरो सिंदूरको बारूद मिसिएको हुनेछ !
-हेमन्त गिरी,रूपन्देही
हाल:जापान
(२०१८/०१/०५)