सातैं प्रदेश जोड्दै आयुर्वेद केन्द्रीय विद्यापीठ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सातैं प्रदेश जोड्दै आयुर्वेद केन्द्रीय विद्यापीठ



गोकर्ण पौडेल
उसो त दाङ जिल्ला पाँच नम्बर प्रदेशको राजधानीको नारामै सीमित रहँदा निकै पिरलोमा रहेको छ । प्रदेशको राजधानी तत्काल बन्न नसकेपनि शिक्षाका माध्यमबाट सातै वटा प्रदेशलाई जोड्न भने सफल भएको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद अध्ययन संस्थानका आयुर्वेद केन्द्रीय विद्यापीठमा विए एम एस तह र जनता विद्यापीठ आयुर्वेद उत्तरमध्यमा तहमा नेपालका सातै प्रदेशका २ सय ६५ बढी विद्यार्थीहरू अध्ययनरत रहका छन् । विजय किशोर ठाकुर प्रदेश नम्बर २का हुन् । ठाकुरलाई आयुर्वेद स्नातक तह पढ्नका लागि काठमाडौँ नजिक थियो तर उनी काठमाडौँ नगएर सिधै दाङ आए ।

प्रदेश नम्बर २ जनकपुर घर भएका विजयलाई भने जसरी घरबाट सोचर पढ्न दाङ आएका थिए त्यसो नहुँदा मन भने केही खिन्न भएको छ । उनी भन्छन् विश्वविद्यालय नजिकै रहेको क्याम्पसमा भौतिक संरचना र पढाई सोचे जस्तै होला भन्ने ठानेको तर त्यसो हुन सकेको रहेनछ ।

प्रदेश नम्बर ४ काठमाडौँका प्रशान्त श्रेष्ठको गुनासो पनि विजयकै जस्तै छ नयाँभवन भए पनि आफ्नै शिक्षण अस्पताल र फार्मेसी नहुँदा प्रयोगात्मक शिक्षामा कमी भएको ठान्छन् । प्रशान्त भन्छन्– हाम्रो लागि सबैभन्दा बढी आवश्यक प्रयोगात्मक शिक्षा हो त्यसैको यहाँ कमी रहेको छ । प्रदेश नम्बर एकबाट आयुर्वेद स्नातक तह वि एम एम एस पढ्न आएकी दीपा कार्कीको पनि उस्तै गुनासो रहेको छ ।

विश्वविद्यालयले छात्रावासको व्यवस्था गर्न नसक्दा टाढाबाट आएका विद्यार्थीहरूलाई विभिन्न समस्या उत्पन्न हुने गरेको बताउछिन । दीपा भन्छिन्– हामीहरूलाई भरपर्दो इन्टरनेटको आवश्यकता पर्छ , सबै पाठ्यपुस्तक नपाइने भएकाले इन्टरनेटबाट खोज्नुपर्ने हुन्छ तर त्यस्तो सुविधा प्राप्त गर्न सकिरहेका छैनौ । आयुर्वेद स्नातक तह चौथा ब्याचका रोहन रावतको गुनासो पनि मिल्दो जुल्दो नै रहेछ । रोहन भन्छन्– विश्वविद्यालय नजिक रहेको क्याम्पसमा भौतिक पूर्वाधारको विकास भए मात्रै आफूले चाहेबमोजिम शिक्षा प्राप्त गर्न सकिन्छ । प्रदेश नम्बर ७ घर भएका रोहनलाई पनि आफूहरूले शुल्क तिरेबमोजिमको शिक्षा पाउनुपर्ने धारणा राख्छन् । साथै विद्यार्थीहरूले समयमै परीक्षा सम्पन्न गर्न नसक्नु र परीक्षाफल दिन नसक्दा समेत समस्या उत्पन्न हुने गरेको बताउँछन् ।

के भन्छन् आयुर्वेद अध्ययन संस्थानका डीन
यता आयुर्वेद अध्ययन संस्थानका डीन प्राध्यापक सञ्जय पोख्रेलले भर्खरै मात्र आयुर्वेद स्नातक तहको पढाई सुरु गरिएको भवनमा प्रदेश राजधानीको चर्चा भएका कारण केही समस्या भएतापनि अब भने समस्या टरेको बताए । भवनमा विद्युत् जडानका लागि ३ महिना अघि नै प्राविधिहरुबाट सम्पूर्ण तयारी गरी विश्वविद्यालयलाई प्रक्रिया अघि बढाउन पदाधिकारीहरू समक्ष फाइल पु¥याएको बताएका छन् ।

त्यसैगरी आयुर्वेद काउन्सिलले तत्काल आफ्नै शिक्षण अस्पतालबाट सेवा सुरु गर्नका लागि निर्देशन दिएकाले वैशाख १५ गतेभित्र हाल रहेको भवनको तल्लो तलाबाट सेवा सुरु गरिने बताए । त्यसका साथ साथै परीक्षा प्रणाली चुस्त दुरुस्त बनाउनको लागि डीन कार्यालयको मात्रै संलग्नता नहुने भएकाले त्यससँग प्रत्यक्षरुपमा सम्बन्ध राख्ने क्याम्पसले समेत प्राविधिक कुरामा विशेष चाख दिएर काम गर्नुपर्ने बताउँछन् । २०६९सालदेखि दाङ जिल्लामा सुरु भएको आयुर्वेद स्नातक तहमा हालसम्म सातौँ ब्याचका विद्यार्थीहरू भर्ना भएका छन् । उता विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकाल दाङलाई आयुर्वेदको केन्द्रकारुपमा विकास गर्नका लागि विश्वविद्यालयले विशेष काम अघि बढाउने बताए । ढकाल भन्छन् – बगानकारुपमा विकास गर्नका लागि तत्काल आयुर्वेद अध्ययन संस्थानलाई दश बिगाहा जग्गा उपलब्ब गराउने र त्यसमा सातै प्रदेशबाट आएका विद्यार्थीहरूले आ आफ्नो स्थानमा प्राप्त हुने जडीबुटी रोपण गर्न सक्छन् ।

विगतमा आयुर्वेद उत्तरमध्यममा तह पढ्ने विद्यार्थीहरूले विभिन्न चूर्णहरु बनाउने भए पनि हाल कुनै चूर्ण नबनाउनु दुखद पक्ष भएकाले चूर्ण , च्यवनप्राश बनाउने विभिन्न सामग्री भएकाले अब शिक्षक र विद्यार्थीहरूले क्रियाशीलता देखाउनुपर्ने बताउँछन् ।

बिरामीको आकर्षण केन्द्र बन्दै आयुर्वेद
केही वर्ष अघिसम्म बिरामीहरूको विश्वास जित्दै आएको मध्यपश्चिमाञ्चल आयुर्वेद चिकित्सालमा बिचमा खासै बिरामीको विश्वास जित्न सकेको थिएन । पछिल्लो पटक नयाँ निमित्त निर्देशक रामकामेश्वर ठाकुर आएपछि फेरि बिरामीहरूको विश्वास जित्ने जमर्को गरेको छ । ६ महिनाअघिसम्म दैनिक २०(२५जनासम्म बिरामी नआउने गरेको हाल दैनिक ५५÷६० जना बिरामी अस्पतालमा आउने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा विभिन्न आयुर्वेदिक सेवा समेत सुरु गरिएको छ । पञ्चकर्म सेवा गरिएको छ ।

अस्पतालमा शल्यक्रियाका लागि एम डिको आवश्यक भए पनि तत्कालका लागि क्षारसूत्र विधि सञ्चालनका लागि जनशक्ति भने रहेको छ । अस्पतालमा ९ जना कार्यालय सहयोगीको दरबन्दी भएतापनि हाल तीन जना मात्र रहेकाले निकै समस्या रहेको बताइएको छ । त्रिफला, वासा, अविपत्तिकरण चूर्ण तयारी बनाउनको लागि आवश्यक पर्ने जडीबुटीका लागि टेन्डर आह्वान गरिएको र यही नै १७ प्रकारका औषधी तयार गर्ने डाक्टर ठाकुरले बताए । औषधी निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू समेत पर्याप्त मात्रामा रहेको उनले बताए । योग दिवसदेखि दैनिक योगाभ्यास समेत सुरु गरिएको छ ।