आवश्यकता, क्षमता र बाध्यताको उपज पार्टी एकता ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

आवश्यकता, क्षमता र बाध्यताको उपज पार्टी एकता !



यति बेला नेपालका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माअोवादी केन्द्र बिचको एकताको विषय सभा – समारोह , गल्ली – चौराह सबै ठाउँमा व्यापक छलफलको विषय बनेको छ । बाम गठबंधन मार्फत निर्वाचनमा जाने निर्वाचन पश्चात् पार्टी एकता गर्ने उद्देश्य सहित अगाडि बढेको प्रक्रियाले राष्ट्रिय – अन्तर्राष्ट्रिय स्तरमै व्यापक चर्चा पाएको छ । विश्व कम्युनिस्ट आन्दोलन एक प्रकारले रक्षात्मक अवस्थामा रहेको बेला नेपालका कम्युनिस्टहरूले चालेको एकताको पाइला र निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताले कम्युनिस्ट आन्दोलनमा एक प्रकारको ऊर्जा र पुँजीवादी – साम्राज्यवादी कित्तामा आतङ्क फैलिएको छ ।सँगसँगै विभिन्न प्रश्नहरू पनि उव्जिएका छन् ! खास गरी एकता किन – केका लागि ? भन्ने प्रश्न नै मूल प्रश्न र ऐतिहासिक महत्त्वको प्रश्न हो । त्यस कारण कुनै पनि घटना क्रमका पछाडि कारण अनिवार्य रहेको हुन्छ । कारण बिनाको कार्य हुनै सक्दैन । त्यस कारण पंक्तिकारको बुझाइमा एकताका निम्न कारण रहेका छन् !

आवश्यकता

फरक – फरक बाटो ( दीर्घकालीन जनयुद्धको बाटो र संसदीय प्रतिस्पर्धाको बाटो ) हिँडेर ६२/६३ को ऐतिहासिक जनअान्दोलनमा भेट भई सँगै हिँडेका दुवै पार्टीको आगामी उद्देश्य समाजवाद र तत्कालीन कार्यनीति राजनैतिक स्थिरता , आर्थिक समृद्धिमा एउटै बाटो भए पछि अलग अलग टोली बनाएर हिँड्नुको कुनै अर्थ पनि छैन बरु गन्तव्यमा पुग्न नसकिने निश्चित छ ।

एकताको मूल कारण देश र जनताको आवश्यकता नै हो । देश र जनताको आवश्यकता भन्दा ठुलो कुनै कुरा हुन सक्दैन । राणा विरोधी आन्दोलनको रूपमा सुरु भएको सामंतवाद विरुद्धको आन्दोलन ७ दशक पश्चात् सफल भएको छ । २००७ सालको आन्दोलन , झापा विद्रोह , २०३४ को सङ्घर्ष , २०३६ को जनमतसंग्रह , २०४६ को जनअान्दोलन , २०५२ देखि २०६२ सम्म सञ्चालित महान् जनयुद्ध , २०६२/६३ को जनअान्दोलन , मधेस अान्दोलनहरुको ताकत र बलिदानले नेपाल राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतंत्रको रूपमा नयाँ युगमा पुगेको छ । जनताले प्राप्त गरेका राजनैतिक अधिकारहरूको प्रयोग गर्दै देशलाई आर्थिक समृद्धिमा लैजानु जनताका गाँस , बाँस , कपास , स्वास्थ्य , शिक्षा र रोजगार लगायतका आवश्यकताहरू पूरा गर्नु तत्कालीन ऐतिहासिक कार्यभार हो ।

यो कार्यभार पूरा गर्न राजनैतिक अस्थिरता अन्त्य गर्नु अनिवार्य बन्यो र स्थिर राजनीतिका लागि बलियो कम्युनष्ट केन्द्र अनिवार्य बन्यो । त्यतिमात्र नभएर कम्युनिष्टहरु निरंतर क्रांतिको सिद्धान्त अँगाल्ने भएका कारण आगामी रणनीति समाजवादका लागि कम्युनिस्ट एकता आवश्यक पर्‍यो । देशको अनिवार्य आवश्यकता पूरा गर्न दुई ठुला कम्युनिस्ट पार्टी मिल्नुको अर्को विकल्प थिएन । दुवै पार्टीका नेतृत्वले इतिहासको आवश्यकता बोध गरेरै एकताको विकल्प रोजेका हुन् । वाम गठबंधन मार्फत निर्वाचनमा गएका कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइको हाराहारीमा विजय प्राप्त गरेर राजनैतिक अस्थिरताको अन्त्य गर्ने पहिलो ताकत निर्माणमा सफल भएका छन् ।

 क्षमता 

युगको नेतृत्व गर्ने छमता देश र जनताको लागि अनिवार्य सर्त हो । जसले यो छमता राख्न सक्छ उसैले देश र जनताको नेतृत्व गर्न सक्छ । अहिलेको अवस्थामा देशलाई नेतृत्व गर्न सक्ने क्षमता विशाल जनअाधार भएको वहुदलिय प्रतिस्पर्धामा खरो उत्रन सफल र कुशल सङ्गठनात्मक विधि भएको एमाले र वर्गसंघर्षको मैदानबाट भीषण क्रांतिको नेतृत्व गरेर देशलाई नयाँ दिशामा डोर्‍याउने राजनैतिक एजेन्डा सहित स्थापित माअोवादी केन्द्र र दुवै पार्टीका प्रमुख नेतृत्वमा देखिएको कौशलताको मिलाप विना देश र जनताको हित संरक्षण सम्भव नभएका कारण विशिष्ठ क्षमताहरूको एकता पनि हो ।

 बाध्यता 

नेपालमा प्राप्त राजनैतिक उपलव्धीहरुको मूल कारण नेपालमा कम्युनिष्टहरुको तागत र कम्युनिस्टले चलाएको सङ्घर्ष नै हो । आफूले लडेर बलिदान गरेर ल्याएको व्यवस्था टिकाउन सक्नु र विकास गरेर अगाडि जानू कम्युनिस्टहरूका लागि ठुलो चुनौतीको विषय हो ।

स्वाभाविक रूपमा सामंतवादको अन्त्यसँगै राष्ट्रिय अन्तर्विरोध फेरिएको छ । अब नेपाली जनताको प्रमुख दुस्मन सामंत होइन पुँजीवाद हो । रणनीतिक रूपमा पुंजिवादीहरु कागजी बाघ भए पनि तत्कालीन हिसाबले पुंजीवादीहरुको घेरा विश्वमा बलियो भएको परिवेशमा आफ्नो देशबाट पुंजिवादीहरुसंग सङ्घर्ष सुरुवात गर्नु पर्दा शक्ति निर्माण अनिवार्य हो । नत्र भने पुंजिवादीहरुले विभाजित कम्युनिस्टहरूलाई एक – एक गरी सिध्याउने कुरामा कुनै विमति छैन ।

अर्को विषय दुवै पार्टी सङ्गठनमा विकाश हुँदै गएको गुटिय मानसिकता सहित गुटको राजनीति गर्ने , गुटको भरमा पार्टी र नेतृत्वसँग मोलमोलाई गर्ने , आफ्नो स्वार्थका लागि धम्की घुर्कि लगाउने , काम नगर्ने , गुटको भाग खोज्ने , जसका कारण काम गर्ने ईमानदारहरु कुनै गुटमा छैन भने पाखा लाग्ने काम नगर्ने निकम्माहरु पनि गुटको भरमा अवसर पाउने । अत्यन्तै गैर कम्युनिस्ट र घृणा लाग्दा प्रवृत्तिहरू पनि विकास हुँदै आएका थिए । यी प्रवृत्तिको अन्त्य पूर्ण रूपमा तत्कालै गर्न त सम्भव हुनै कुरा भएन तर यो एकताले पुराना सबै गुट भत्काउंदै ती प्रवृत्तहरूमा ब्रेक लगाउने भने पक्का छ । सङ्गठनात्मक रूपमा नयाँ विधि शमिकरणको विकास अनिवार्य हुने छ । त्यस कारण बाह्य र आन्तरिक बाध्यता पनि एकताको कारण मध्ये एक हो ।

निष्कर्ष 

एकता हुन नदिन विभिन्न षड्यन्त्रहरू भई रहेका छन् भन्ने कुरा जग जाहेर नै छ । तर त्यति भनेर कसैले एकताबाट उम्किन पाउने छैनन् । मार्क्सवादी दर्शन द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तुको विकास वा विनाशको प्रमुख कारण वस्तु भित्र निहित हुन्छ भने जस्तै प्रतिकृयावादीहरुका षड्यन्त्रमा फस्ने वा बच्ने पार्टी र नेतृत्वको नियत चेतना र क्षमतामा भर पर्ने कुरा हो । त्यसैले एकतालाई केन्द्र विन्दुमा राखेर सोच्न सुरु गर्ने हो भने एकता सहजै गर्न सकिन्छ । स्वार्थलाई केन्द्रमा राखेर एकता गर्ने प्रयास हो भने सम्भव छैन । विचार सिद्धान्त र नेतृत्वबारे हठवादी मानसिकता भन्दा पनि वैज्ञानिक अवधारणाको विकास गरेर एकता गर्नु पर्दछ । मार्क्सवादका आधारभूत सर्तमाथि टेक्दै आजको आवश्यकता अनुसारको सिद्धान्तको विकास गर्न जरुरी छ ।

नयाँ जनवाद वा जनताको बहुदलिय जनवादलाई हुवहु लागू गर्ने कोसिस गर्नु भनेको वस्तुगत अवस्था अनुसार सिद्धान्तको विकास गर्न नसक्नु जडशुत्रवादी हुनु हो ! यता एक अर्कालाई विलय गर्ने कोसिस गर्नु हो । जुन अहिलेको अपस्थामा आवश्यक र सम्भव दुवै छैन । उपरोक्त दुवै सिद्धान्त अथवा रणनीतिको अौचित्य अब छैन । किन भने ? सामंतवादी व्यवस्थाको अन्त्य गर्न निर्माण गरिएको विचारको सामंतवादको अन्त्यसँगै अौचित्य समाप्त भएको छ । अब पुँजीवादका विरुद्ध सङ्घर्ष गर्ने नयाँ विचार निर्माण गर्ने कुरामा सबैको ध्यान जान जरुरी छ । यदि दुवै पार्टीले अँगाल्दै आएका विचारका सकारात्मक पक्षलाई अंगिकार गर्दै अहिलेको आवश्यकता अनुसारको विचार निर्माण गरिन्छ भने एकताको लागि सहज वातावरण बन्छ र बनाउनु पर्दछ । निर्वाचनमा बाम गठबंधनले हासिल गरेको विजयमा कुनै एक पार्टीको विजय होइन गठबंधनको विजय हो पार्टी एकताको उद्देश्य सहित गरिएको गठबन्धन प्रतिको विश्वासमा जनताले मत दिएका हुन् । त्यस कारण दुवै पार्टीका नेता कार्यकर्ताको उचित व्यवस्थापन सहित एकताको विकल्प छैन ।

अहिले आएर हामी कम्युनिस्टहरूले गरेको सङ्घर्षले जनता सापेक्षित रूपमा अधिकार सम्पन्न भएका छन् भनेर हामी गर्व गर्ने ठाउँमा उभिएका छौँ । अब आगामी दिनमा विश्वकै पिछडिएको गरिब मुलुकलाई छोटो अवधिमा हामी कम्युनिस्टहरूले नै समृद्ध बनायौँ र समाजवादको अधार तयार पार्यौं भन्ने गर्व गर्ने दिन छिट्छै अावस भन्ने चाहना सबै कम्युनिस्टहरूले राखौँ र एकताको बाटोमा दृढता पूर्वक अघि बढौैं ।

धन्यवाद ।

सुरेन्द्र देवकर
सचिव-(अखिल भारत नेपाली एकता मञ्च )
केन्द्रीय समिति