अाशावादी र परिणाममुखी आन्दोलन मेरो मूल सङ्कल्प हो:आचार्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अाशावादी र परिणाममुखी आन्दोलन मेरो मूल सङ्कल्प हो:आचार्य



अनेरास्ववियुका वर्तमान उपाध्यक्ष  रश्मी आचार्य, समकालीन विद्यार्थी आन्दोलनका एक शालीन तथा बौद्धिक नेता हुन् । उनी स्कूले जीवनको सानै उमेर देखि अनेरास्ववियुमा सङ्गठित भए । शान्ति उदय मा. वि. वर पाण्डे थुम, ( हाल: पोखरा म न पा बडा नं ३३, कास्की ) बाट विद्यालय शिक्षा लिएका उनले आई एस्सी , व्यवस्थापनबाट स्नातकोत्तर र कानुनमा एल. एल. बि गरेका छन् । उनले यसअघि अनेरास्ववियु कास्कीको अध्यक्ष, गण्डकीको अध्यक्ष, केन्द्रीय कमिटी सदस्य , केन्द्रीय सङ्गठन विभाग प्रमुख र कोषाध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् ।

देशभरि सबै भन्दा धेरै विद्यार्थी सङ्ख्या (करिब १८०००) भएको समयमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति बनेका आचार्य अनेरास्ववियुको वर्तमान नेतृत्वमा अध्यक्ष नविना लामा पछिको क्रममा रहेका छन् । त्यसैले उनी अध्यक्षका प्रबल दावेदारको रूपमा देखिएका छन् । हाल, दिल्लीमा छोराको उपचारमा संलग्न अाचार्यसंग अनेरास्ववियुको नयाँ नेतृत्व चयनको सन्दर्भमा गरेको कुराकानीको संम्क्षिप्त अंश )

यति बेला अनेरास्ववियुको नयाँ नेतृत्व बारे बहस चलिरहेको छ, तपाईँ भने यता ?

हो, म छोराको उपचारको क्रममा केही समयदेखि यता छु । हाम्रो अध्यक्ष नविना लामा माननीय सांसद भए पछि सङ्गठन भित्र नयाँ नेतृत्व चयनका लागि उहाँले बाटो खोलिदिनुभएको छ । नयाँ नेतृत्वको सम्बन्धमा सङ्गठनमा व्यापक बहस चलेको छ । धेरै साथीहरूले मलाई उपचार छोट्याएरै भए पनि छिटो आउन भनिरहनु भएको छ । २/४ दिनमा म नेपाल फर्किँदै छु ।

यस्तो समयमा तपाईँको प्रत्यक्ष अनुपस्थितिले के असर गर्दैन र ?

हेर्नुस् , मानिसको जीवन सधैँ एकनास हुँदैन । कहिले बिरामी, कहिले खुसी, कहिले दुखी र अन्ततः: मृत्यु हाम्रो बसमा नभएका विषय हुन् । यो धर्तीमा कोही मानव अजम्बरी छैन । आज पूर्ण स्वास्थ्य जीवन कहिले बिरामी पर्छ, ठेगान छैन । के मैले अब सङ्गठनमा काम गर्नै नसक्ने परिस्थिति खडा भएको हो र? त्यो त होइन । त्यसैले जीवनभर दु:ख गरेको सङ्गठनमा मैले स्वाभाविक नेतृत्व लिने सन्दर्भ चलिरहँदा केही दिनको मेरो प्रत्यक्ष अनुपस्थितिले तात्विक फरक पार्दैन । यो विषय कुनै कोणबाट पनि कारक बन्नै सक्दैन ।
फेरि नेतृत्वमा पुग्ने भनेको २ / ४ दिनको सक्रियताले वा भेलवाढी आए जस्तो पनि त होइन ।आन्दोलन प्रतिको स्पष्ट दृष्टिकोण, वर्षैको मेहनत, त्याग, सृजनशिलता, ईमान्दारीता र दक्षता त्यसका मुख्य आधार हुन् । यस कोणबाट म आफूलाई अनेरास्ववियुको नेतृत्व गर्न अब्बल नै ठान्दछु ।

तपाईँले आफूले नेतृत्व गर्न पाउने दावालाई स्वाभाविक भन्नुभयो, कसरी?

पहिलो कुरा त, म अहिले उपाध्यक्ष छु । उपाध्यक्ष हुने भनेकै अध्यक्ष हो । दोस्रो कुरा, सङ्गठनमा लागेको हिसाब र हरेक तह ( जिल्ला, अञ्चल, स्ववियु) मा नेतृत्व गरिसकेको हुनाले मेरो दावा स्वाभाविक छ । तेस्रो कुरा, आजको बदलिँदो परिवेशमा विद्यार्थी समुदायको काँधमा धेरै युगीन जिम्मेवारीहरू थपिएका छन् । सङ्गठनलाई जुझारु, अनुशासित र स्पष्ट दृष्टिकोणयुक्त बनाउन जरुरी छ । त्यो काम मैले गर्न सक्छु । चौथो कुरा, विगतका समझदारीहरू पल्टाएर हेर्‍यो भने अब मैले नेतृत्व गर्ने तथ्य जसले पनि सजिलो गरी देख्न सक्छ । साथै अन्य धेरै कोणबाट आजको अखिलमा मेरो नेतृत्व स्वाभाविक छ ।

नेतृत्वका दावेदार त धेरै छन् नि, होइन र?

अबश्यनै । धेरै साथीहरू हुनुहुन्छ । उहाँहरूका पनि आ-आफ्नै तर्क र जोडहरू हुन सक्छन् । यदि सङ्गठन भित्र घनिभूत छलफल र स्वास्थ्य बहस भयो भने मैल नेतृत्व गर्ने कुरामा सबै साथीहरू सहमत हुने प्रशस्त ठाउँ छ । मैले नेतृत्व गर्दा कोही साथी माथि पनि अन्याय हुँदैन । वर्तमान अखिल भित्रको सर्वोत्तम विकल्प म नै हो भन्ने मेरो बुझाई हो । देशभरिका कार्यकर्ताको ठुलो पङ्क्ति र यस आन्दोलन हाँकेका अधिकांश अग्रजहरूको सुझाव लिनुभयो भने यो भन्दा फरक धारणा आउँछ जस्तो लाग्दैन ।

तपाईँ नेतृत्वमा आए पछि के गर्ने सोच्नु भएको छ ?

योजना त धेरै नै छन् । अाशावादी र परिणाममुखी आन्दोलन मेरो मूल सङ्कल्प हो । त्यसको लागि सशक्त र एकीकृत विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने मेरो चाहना हो । यति बेला शिक्षाक्षेत्रको विशालता सँगै हाम्रा अविभाराहरू पनि थपिएका छन् । क्षेत्र थपिने, मुद्दा थपिने तर नेतृत्वको क्षमता ह्रास हुँदै जाने भयो भने हामीले आम विद्यार्थीहरूको वास्तविक नेतृत्व गर्न सक्दैनौँ । त्यसैले आजको मोबाइल जेनेरेशनको सच्चा प्रतिनिधिको रूपमा अनेरास्ववियुलाई स्थापित गराउन मैले नेतृत्व लिन खोजेको हो । केवल अध्यक्ष हुन, ईतिहाँसमा नाम लेखाउन, भोलिका निम्ति प्रोफाईल तयार पार्न म अध्यक्ष हुन चाहेको होइन । अखिल आन्दोलनको केवल निरन्तरता मेरो सपना होइन, यसमा नवीनता थप्नु नै मेरो लक्ष्य हो । २१ अौं शताब्दीको नेपाली विद्यार्थी आन्दोलनले विश्व सामु नयाँ नमुना प्रस्तुत गर्न र दुनियाँले पनि हामीबाट केही सिक्ने गरी सन्देश दिन सकिन्छ भन्ने मेरो विश्वास हो । अनेरास्ववियुको गरिमा र उँचाईलाई थप शिखरमा पुर्‍याउने मेरो दृढ अठोट हो ।

त्यसका लागि यहाँले अघि सार्ने मुद्दाहरू के के छन् ? सङ्क्षेपमा बताइदिनुस् न ।

हाम्रा धेरै ठुला मुद्दा हुने छैनन् । एउटा विद्यार्थीले कक्षा कोठा सम्म आई पुग्न झेल्नु परेका कठिनाइ, कक्षा कोठा भित्रका अभाव र कक्षाबाट सर्टिफिकेट बोकेर बाहिर निस्के पछि उसका सामुन्ने आई पर्ने चुनौतीहरू नै अबका हाम्रा मूल निशाना हुनेछन् । तीनलाई शिक्षाको तहगत, विश्वविद्यालय गत , नीतिगत र क्षेत्र गत हिसाबले छुट्याई तिनको समाधानका लागि सरोकारवालाहरूको ध्यान बुँदा बुँदामा केन्द्रित गर्नेछौँ । राज्यको पुनर्संरचना भएर नयाँ संरचनाहरू आएको परिस्थितिमा समग्रशिक्षा क्षेत्रको पुनर्संरचना गरी माटो सुहाउँदो शिक्षाको बाटो पहिल्याउनु नै अबको मुख्य एजेन्डा हुनेछ । मूलतः परिणाममुखी विद्यार्थी आन्दोलन नै हाम्रो अर्जुनदृष्टी हुनेछ ।

त्यसोभए तपाईँहरूले अब राजनीतिक , सामाजिक लगायत अन्य क्षेत्रका विषयहरू उठाउनु हुन्न ?

अनेरास्ववियु आफैमा रचनात्मक क्रियाशीलताको अर्को नाम हो । राष्ट्रियताको पहरेदार हो । जनजिविकाको प्रतिध्वनि हो । सामाजिक आन्दोलनको कट्टर हिमायती हो । हामी यस भूमिकाबाट अलग रहनै सक्दैनौँ । आगामी दिनमा यस भूमिकालाई अझ गाढा बनाउने छौँ ।यस सँगसँगै देशको समृद्धिको अभियानमा विद्यार्थी जगतलाई आधार स्तम्भको रूपमा स्थापित गर्नेछौँ । सरकारकाे कामका गुण र दोषको आधारमा समर्थन वा विरोध गर्नेछौँ । समग्रमा भने हाम्रो आन्दोलनलाई शैक्षिक विषयमा नै केन्द्रित गर्नेछौँ । अखिललाई विद्यार्थीहरूको आँखाको नानी र अविभावकहरूको आशा तथा भरोसाको केन्द्र सदैव बनाइरहनेछौँ ।

प्रसङ्ग बदलौँ, दुई पार्टी बिच चलिरहेको एकताको सन्दर्भले तपाईँहरूको नयाँ नेतृत्व छनौट कार्य लाई असर त गर्दैन ?

अहिले दुई पार्टी बिच चलिरहेको एकता प्रक्रिया पार्टी केन्द्रबाट सुरु भएर अगाडि बढ्दै छ । जनसंगठनहरूमा कुन मोडालिटी अपनाउने त्यसको टुङ्गो केही समय पछि लाग्ला । अहिले तत्काल हाम्रो नयाँ नेतृत्व आउन एकता प्रक्रियाले कुनै असर गर्दैन