कम्युनिस्टको एकताले जनता खुसी, तर अस्थिरतामा रमाउनेको निद हराम : रायमाझी । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कम्युनिस्टको एकताले जनता खुसी, तर अस्थिरतामा रमाउनेको निद हराम : रायमाझी ।



कमल बिष्ट  /मङ्सिर–९, अर्घाखाँची

पूर्व उपप्रधानमन्त्री तथा बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उमेदवार टोप बहादुर रायमाझीले कम्युनिस्ट शक्ति एक हुँदा आम जनतामा खुसी आशाको उत्साह सन्चार भाएपनि देशलाई अस्थिरतामा राखेर राज्यको ढुकुटिमा ब्रम्हलुट मच्चाउन पल्केकाहरुको भने निद हराम भएको बताउनु भएको छ अर्घाखाँची क्षेत्र नम्बर २ ले सन्धिखर्क चुत्राबेशीमा आयोजना गरेको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताउनु भएको हो ।

अर्घाखाँची जिल्लाबाट दुई पटक सम्म जननिर्वाचित सभासद् भई सक्नु भएका रायमाझीले आफू सभासद् हुनु भन्दा पहिले रातो किताबमा अर्घाखाँचीको एउटा मात्रै सन्धिखर्क–गोरुसिङ्गे सड्क बाहेक अरू योजना नुहुने गरेकोमा अहिले करिब ५ दर्जन बढी योजनाहरुलाई उल्लेख्य रकम विनियोजन हुनु अर्घाखाँचीको सौभाग्य भएको बताउनु भयो । जिल्लामा विद्यमान सड्क आयोजनाहरुलाई स्तरोन्नती गरी क्रमशः पीच गर्ने तयारीमा आफू रहेको उहाँको भनाई थियो । उहाँले जिल्लामा पर्यटनको बलियो सम्भावना रहेको भन्द,ै लुम्बिनी, पोखरा, ढोरपानटन, स्वर्गद्वारी, आउने पर्यटकलाई अर्घाखाँची भित्राउने तयारीमा लागेको बताउनु भयो ।

पछिल्ला वर्षहरूमा जिल्लाबाट बसाई सर्ने क्रम बढेको भन्दै उहाँले अर्घाखाँचीलाई नमुना जिल्लाको रूपमा विकास गरी विद्यमान बसाई सराईको दर रोक्ने र बसाई सराई गरेर बाहिर गएकाहरुलाई पुनःजिल्लामा फर्कने वातावरण सृर्जना गर्ने उहाँको भनाई छ । पहाडी जिल्ला हुँदा हुँदै पनि योजनाबद्ध रूपमा काम गर्न सके सानो जिल्ला अर्घाखाँचीमा पनि हजारौँ हजार युवाहरूलाई स्वरोजगारी दिन सकिने भन्दै उहाँले २ सय ४५ मेघावाटको नौमुले जलविद्युत आयोजना जनता र सरकारको संयुक्त लगानीमा तत्काल सुरु गर्ने बताउनु भयो । रोजगारीका लागि कृषि, पर्यटन तथा उद्योगलाई प्राथमिकतामा राखेर आफूहरू अगाडी बढेको उहाँको दाबी थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ प्रदेश सभा अर्घाखाँचीका उम्मेदवार रामजी प्रसाद घिमिरेले सामाजिक न्याय, सुशासन र समृद्धिको लागि वामपन्थी गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो । नेपाली जनता सदैव शान्ति, अग्रगमन र मुलुकको द्रुत विकासको पक्षमा दृढता पूर्वक उभिएको भन्दै उहाँले आसन्न निर्वाचनमा वामगठबन्धनले दुइतिहार्ई स्थानमा विजयी हासिल गर्ने बताउनु भयो ।

अब बन्ने वामगठबन्धन सरकारले राष्ट्रियताको संरक्षण, दिगो विकास, रोजगारीको ग्यारेन्टी र सामाजिक न्यायलाई पहिलो प्राथमिकतामा राखी केही वर्ष भित्रमा मुलुकलाई संसारको विकसित राष्ट्र र जनतालाई संसारका सबैभन्दा सुखी र समृद्ध बनाउने योजना आफूहरू सँग रहेको बताउनु भयो । उहाँले सन्धिखर्कलाई स्मार्ट सहर बनाउने, शान्ति वगैचा, लदाम बगैचा, मथुरा बगैचालाई पार्कको रूपमा विकसित गर्ने, पाणिनि क्याम्पसमा विज्ञान विषय पढाई सुरुवात गरी नमुना क्याम्पस बनाउने, जिल्लामा विशेषज्ञ सहितको सय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, रोजगारीका अवसरहरू खडा गरी युवाहरूको विदेश पलायन रोक्ने लगायतका योजनाहरू आफूले अँगाडी सारेको घिमिरेको भनाई छ ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्व सांसद् तथा एमाले नेता डा. दुमन सिंह थापाले आफूले अगाडी सारेका अधुरा विकासका योजना वामगठबन्धनका उम्मेदवारहरुले मात्र पूरा गर्न सक्ने भन्दै जिल्लाको उन्नति र प्रगतिका निम्ति गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नु भयो ।

अर्का वक्ता उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपाली जनता कम्युनिष्टहरुको दुई तिहाई बहुमतको स्थायी सरकार बनेको देख्न आतुर रहेको बताउनु भयो । मुलुकमा कम्युनिस्ट सरकार विना उद्योगी र व्यवसायीको संरक्षण हुन नसक्ने उहाँको भनाई थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटीका सदस्य केवी भुसालको अध्यक्षता , एमाले नेता श्रीकृष्ण भुसालको सञ्चालन र एमाले सन्धिखर्क नगर कमिटीका संयोजक युवराज श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ, वोम बहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार वि.क. (किशोर), एमाले प्रदेश सभाका सदस्य पिताम्वर भुसाल, केन्द्रीय स्कुल विभागका सदस्य तथा समानुपातिक उम्मेदवार बुद्धि बहादुर रायमाझी, महिला नेतृ पवित्रा पौडेल जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला, सचिव राम बहादुर चौहान, उप सचिव प्रेम गैरे, समानुपाति उम्मेदवार जालपा भुसाल, माओवादी केन्द्रका सह संयोजक तोज बहादुर रायमाझी (विधान), केन्द्रीय सम्मेलन आयोजक कमिटीका सदस्य राम बहादुर रायमाझी लगायतका नेताहरूको उपस्थिति रेको थियो ।

यसैबिच संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ ले शनिवार नै सन्धिखर्कको तुमकोट, छापडाँडा, हटारी, लगायतका विभिन्न स्थानमा चुनावी भेटघाट तथा जनसभा सम्पन्न गरेको छ ।