एमालेमा अन्तर्घातीको विवरण उपलब्ध गराउन निर्देशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेमा अन्तर्घातीको विवरण उपलब्ध गराउन निर्देशन



काठमाडौं ,२७ असार ।

एमालेले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले १५ दिनभित्र पार्टीका उम्मेदवारलाई हराउन लागेकाको विवरण उपलब्ध गराउन जिल्ला कमिटीलाई निर्देशन दिएको हो ।

बैठकले जिल्ला कमिटीमार्फत स्थानीय तहको निर्वाचनमा जित्नु र हार्नुको कारणसहितको प्रतिवेदनसमेत मगाउने निर्णय गरेको छ ।‘निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन गरिन्छ,’ बैठकपछि एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका साथै मोरङ र सुनसरी जिल्लामा पार्टीले अनपेक्षित हार बेहोर्नुपरेको नेताहरूले बताएका छन् । यसका साथै पश्चिमतर्फका जिल्लामा समेत यस्तै अवस्था रहेको छ । उपाध्यक्ष तथा उपप्रमुख जितेका ३२ स्थानीय तहमा अध्यक्ष तथा प्रमुखमा भने एमाले उम्मेदवार पराजय भएका थिए ।

त्यस्तै बैठकले निर्वाचन सम्पन्न भएको जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको नाम १५ दिनभित्र केन्द्रमा सिफारिस गर्नसमेत प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ । तर जिल्ला समन्वय समितिका सदस्यहरूको टुंगो भने सम्बन्धित जिल्ला कमिटीले नै टुंग्याउनेछन् । पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकूलताका बाबजुदसमेत एमाले पहिलो शक्ति बनेकोमा बैठकले सन्तोष व्यक्त गरेको छ । पार्टीलाई दोस्रो चरणको निर्वाचनमा पहिलो शक्ति बनाउने मतदातालाई एमालेले धन्यावादसमेत दिएको छ । साथै निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, राष्ट्रसेवकहरू, सुरक्षा निकाय एवं सञ्चारमाध्यमलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

एमालेले २ असोजमा हुने प्रदेश–२ को निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि १ साउनदेखि हुने मतदाता नामावली संकलनमा योजनाबद्ध रूपमा लाग्न मातहत कमिटीलाई बैठकले निर्देशित दिएको सचिव ज्ञवालीले बताए । राजधानी दैनिकमा खबर छ ।