अभिभावक बनभोज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभिभावक बनभोज कार्यक्रम सम्पन्न



अस्ट्रेलिया |

एडीलेडको थोरन्डोन पार्कमा नेपाल बाट अस्ट्रेलिया घुम्न आएका अभिभावकहरुको लागि बनभोज कार्यक्रम आयोजना गरिएको छ । एडीलेड नेपाली समाजको आयोजनामा अप्रिल २४ तारिक सोमबार सम्पन्न उक्त कार्यक्रममा एक आपसमा परिचय गर्दै उपस्थित अभिभावकहरुले विभन्न खानाको परिकारको स्वादसंगै मनोरन्जन लिएका थिए ।

साउथ अस्ट्रेलियामा अभिभावकहरुलाई लक्षित गरि गरिएको पहिलो कार्यक्रमको बारेमा बताउदै समाजकी अध्यक्ष सन्तोषि गौतम भन्छिन ” अस्ट्रेलिया र नेपालमा सामाजिक र संस्कृतिक संरचना केहि फरक छ साथै नयाँ परिवेशमा आउने अभिभावकको लागि भाषाको पनि समस्या छ, यहाँ आफ्नो परिवार बाहेक धेरै नेपालीहरुसँग एकै चोटी भेट्न गार्हो छ ,त्यसैले उहाहरुलाई नै लक्षित गरेर एक आपसमा भलाकुसारी होस् भनेर कार्यक्रम आयोजना गरेका हौ। ” उनले थप्दै भनिन ” हाम्रो गाऊ घरमा एउटा घरमा मिठो पाक्दा अर्को घरसँग बाढेर खाने प्रचलन छ त्यसको न्यास्रो मेटाउन सानो भए पनि सहयोग होस् भन्ने हाम्रो चाहना थियो। ”

कार्यक्रममा सहभागी कृष्ण प्रसाद निरौलाले अस्ट्रेलिया बसाईमा नेपाली समुदायका कार्यक्रमहरुमा सहभगिता हुदा आफुलाई छुट्टै आनन्द आएको बताए। बिराटनगर स्थाई घर भएका उनले भने ” अस्ट्रेलियाको बसाई हार्दिकता पूर्ण लागेको छ , अभिभावकहरुलाई नै लक्षित यस प्रकारका कार्यक्रमहरुले नेपालका बिभन्न क्षेत्र बाट आएका साथी भाईहरु सँग परिचय भएको छ। ”

लामो समय देखि साउथ अस्ट्रेलियामा बस्दै आएका राम बहादुर थापाले भाषाले गर्दा यहाँ घुलमिल हुन गार्हो पर्ने बताए । उनि भन्छन ” यहाँको समाजमा छिट्टै घुलमिल हुन भाषा आवश्यक छ , सम्पूर्ण कामहरु आफै गर्दै सामाजिक रुपमा घुलमिल भएर बसेका अभिभावकहरु यहाँ आउदा केहि गार्हो महसुस गरेका हुन्छन त्यसैले यस प्रकारको कार्यक्रमहरुले थोरै भए पनि एक आपसमा आफ्ना कुराहरु साट्ने मौका मिल्छ। ” कार्यक्रममा उपस्थिति अभिभावकहरुले दोहोरी , चुट्का लगायतका गितमा रमाईलो गरेका थिए।

तस्बिर: निजम केसी