आखिर किन गर्न खोजे थिङले मकाउमा आत्महत्या ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आखिर किन गर्न खोजे थिङले मकाउमा आत्महत्या !



कर्ण अधिकारी मकाउ,चीन।

वैदेशिक रोजगारको सिलसिलामा २ महिना अगाडी मकाउ आएका मकवानपुरका ईश्वर थिङले आफ्नै कोठामा मिति २०१८/६/२ तारीक शनिवारका दिन आफैले आफ्नै घाटी रेटी आत्महत्याको प्रयास गरेको कुरा सामाजिक सञ्जाल र नेपाली मिडिया पोर्टलहरूमा आयसँगै सर्वत्र चासोको विषय बनेको छ।जति पनि समाचार आए ती सबैमा केही सत्यता भए पनि ती सबै हचुवाको भरमा आएका समाचारहरू हुन।दोषी को हुन न निर्दोष को हुन भन्ने कुरा छानबिन पश्चात् मात्र पुष्टि हुनेछ।थिङ नेपालका मेनपावर कम्पनी र नेपाल सरकारबाट श्रम गरेर मकाउ आएका व्यक्ति हुन।

घटना घटेको दिन देखि आजको दिन सम्म पनि उक्त घाइते व्यक्तिसँग मकाउ प्रहरीले कुनै पनि व्यक्तिलाई भेटघाट गर्न दिइएको छैन।घाइतेको सान्तेन हस्पिटलमा उपचार भई रहेको र घाइते खतरा मुक्त छ।यस विषयमा बुझ्न जाँदा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका प्रतिनिधिहरूलाई हस्पिटलमा घाइते व्यक्तिसँग भेट्न नदिई फर्काइएको थियो।यो घटनाको यथार्थताको विषयमा मकाउ प्रहरीले अनुसन्धान गरी रहेको हुँदा आधिकारिक जानकारी कसैलाई छैन।के कारणले आत्महत्या प्रयास गरे भन्ने विषयमा मकाउको राष्ट्रिय मिडियाले समेत पुष्टि गर्न सकेको छैन।केवल घाइते अवस्थामा नेपाली नागरिकलाई अस्पताल लगिएको भनेका छन्।

यस घटनाका पीडितलाई मकाउमा रहेका सामाजिक,राजनीति,जातीय सङ्घ संस्थाले के गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा परीचर्चा चलेको र म स्यंम पनि मकाउको सङ्घ संस्थामा आबद्ध भएका कारणले पनि यस विषयलाई गम्भिरता पूर्वक हेरी रहेको छु।घटना घट्नु दुखद हो तर घटना पश्चात् पीडितको समस्यालाई कसरी कानुनी प्रक्रियाबाट हल गर्न सकिन्छ भन्ने विषयमा पीडितको निवेदनको आधारमा सामाजिक,राजनैतिक एवं जातीय सङ्घ संस्थाको प्रतिनिधिहरू एक आपसमा छलफलमा जुटेर सहयोग गर्न सकिनेछ।यस घटनामा व्यक्तिगत धारणा प्रस्तुत गर्नु भन्दा पनि सामूहिक तवरबाट अगाडी बढेमा सफल बिन्दुमा पुग्न सक्ने छौ।

सन १९९६ देखि मकाउमा नेपालीहरू कार्यरत रहे पनि आत्म हत्याको प्रयास गरेको मकाउमा यो नै पहिलो घटना हो।मकाउमा ल्याएर अलपत्र पार्ने आएको १ वर्षमा नेपाल फर्काई दिने पठाएको व्यक्तिको ठाउँमा अर्को नेपालीलाई हाल्ने,भिसा थप्दा ५ हजार मोप भन्दा बढी पैसा लिने कुरा हामीले सुन्दै र देख्दै आए पनि यस्तो प्रकृतिको घटना घट्नु दुर्भाग्य हो।यस घटनाका पछाडि अनुमानित थुप्रै कारणहरू हुन सक्छ।सर्व प्रथम मकाउमा रोजगार पाइन्छ भने पछि नेपालमा बेरोजगारी भएर बसेका युवाहरू कुरै नबुझी लाखौँ तिर्न राजी हुन्छन् र लाखौँ रुपैयाँ खर्चिएर मकाउ छिर्छन् चाहे श्रम गरेर होस वा चाहे भिजिट भिसामा नै किन नहोस्।मकाउका लागि नेपालमा काम गर्ने नाम चलेका मेनपावरबाट भन्दा पनि दलाल मार्फत आउनेहरूले मोटो रकम तिरेको र दु:ख पाएका थुप्रै उदाहरण छन्।

सप्लायर्स कम्पनीमा काम गर्नका लागि दलाल मार्फत १०/११ लाख तिरेर आएका नेपालीहरू मकाउ आए पश्चात् दैनिक १२ देखि १८ घण्टाको दरले पुरै महिना काम गर्दा पनि मुस्किलले १० हजार मकाउ पटका कमाउछन।मकाउमा खान बस्न एकदमै महँगो भएका कारण नेपाली ६०/७० हजार नेपाली रुपैयाँ बचाउन पनि गारो छ।भनेको समयमा छुट्टी नपाउनु,सुपर भाईजर म्यानेजरबाट दबाब झेल्नु,भाषामा समस्या हुनु र सोचेको जस्तो तलब नहुनुले पनि मोटो रकम तिरेर आउनेहरूलाई मानसिक पीडा हुनु स्वाभाविकै हो।मानसिक पीडाकै कारण मानिस डिप्रेशनको सिकार बन्न पुग्छन् र डिप्रेशनका कारण यस्ता घटनाहरू घट्न जान्छ।

मकाउका लागि स्पेशल रूपमा काम गर्ने र बढी कोटा पाउने एकता ईन्टर नेशनल र वर्ल्ड वाईड मेनपावर भएता पनि ती मने पावरबाट भन्दा पनि अन्य मेन पावर र दलाल साथै बिचौलाहरू मार्फत मकाउ आउँनेहरू मोटो रकम तिर्न बाध्य हुन्छन्।मकाउमा पनि त्यसरी दलाल काम गर्दै आएका नेपालीहरू हामी प्रशस्तै भेट्छौ।एक नेपालीले जानीजानी अर्को नेपालीलाई फसाउनु दुर्भाग्य हो।यस्ता व्यक्तिहरू प्राय ठुला बडाहरूको र सामाजिक,जातीय एवं राजनीति संस्थाहरूको खोल ओढेर काम गरी रहेका छन्।यस्ता दलाल गर्नेहरूलाई हामीले पहिचान गर्न जरुरी छ।

सबै भन्दा जटिल कुरा त मकाउ भिजिट भिसामा आएर रोजगारी गर्नेहरूको हो।नेपालबाट १० लाख भन्दा बढी पैसा तिरेर भिजिटमा दलालले ल्याउछन र जागिर लगाई दिन्छन् तर यस पछाडि थुप्रै समस्याहरू छन्।कथम् कदाचित मकाउमा मरी हाले भने उसले नेपालबाट श्रम नगरेको कारण उसका परिवारले कुनै पनि सरकारबाट पाउने राहत पाउँदैन।यही आएर जागिर लगाई दिने हुनाले कुन कम्पनी कस्तो कम्पनीमा पर्छ भन्ने कुरा थाहा नै हुँदैन जसका कारण मान्छे विक्षिप्त बन्न पुग्दछ।केही समय पहिला मकाउमा मृत्यु भएका रवि प्रकाश महत्तोले पनि भिजिट भिसामा आएर काम गरेका कारण सरकारबाट पाइने राहत केही पाएन तसर्थ मकाउ आउन चाहने नेपालीहरूले यी विविध कुराहरूलाई मनन गर्दै १ चोटि मात्रै होइन हजारौँ चोटि सोचेर काम गर्नु होला।

मकाउको वर्तमान अवस्थाका बारेमा भन्नु पर्दा यहाँ विदेशी ओभर्सिज वर्करहरू विभिन्न होटेल क्यासिनो साथै सप्लायर्स कम्पनीहरूमा १ लाख ६५ हजार भन्दा माथि कार्यरत छन्।चीनको आफ्नो नीति र मकाउमै दक्ष जनशक्ति उत्पादन भई रहेका कारण मकाउ र चीनको रणनीति अनुरूप ओभर्सिज वर्करमा चीनको ६० प्रतिशत र अन्य मुलुकका ४० प्रतिशतले काम गर्न पाउने कुराको निर्णयमा पुगेका छन् जसको परिणाम स्वरूप तारे होटेल र क्यासिनोमा चीनको कामदारहरू हाल्न सुरु गरी सकेको छ।यसको प्रत्यक्ष असर अन्य देशका वर्करहरूलाई पर्ने छ।साँच्चै भन्नु पर्दा मकाउमा नेपालीहरूका लागि पनि यस नीतिले असर पुराउँदै छ।त्यस कारण मकाउ आउँदा सोचेर बुझेर आउनु होला हचुवाको भरमा लाखौँ रुपैयाँ नडुबाउनु हुन अनुरोध गर्दछु।