आज गोरु तिहार ,म्हः पूजा विशेष - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आज गोरु तिहार ,म्हः पूजा विशेष



काठमाडौं, कात्तिक ३

वि.सं. २०७४ साल कार्तिक ३ गते शुक्रबार, चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि, चित्रा नक्षत्र, विष्कंभ योग, किंस्तुघ्न करण, आनन्दादीमा मुशल योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज  सूर्योदय बिहान ६ः०७ मा भयो भने सूर्यास्त बेलुका ५ः२८ मा हुनेछ ।

आज यमपञ्चकको चौथो दिन गोरुको पूजा गर्ने गरिने भएकाले गोरुतिहार पनि भनिन्छ । गोवद्र्धन पूजा गरिन्छ । आज बेलुका देउसी खेल्ने प्रचलन छ । आज नेवारी परम्परामा म्ह: पूजा गरिन्छ । आजबाट नेपाल संवत् ११३८ प्रारम्भ भएको छ ।

गोरु तिहार

आज यमपञ्चको चौँथो दिन गोरु को पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ । आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । अहिलेको युगमा खेती पाती गर्नको लागि विभिन्न प्रविधिहरु आए । यी सामग्रीहरु आउनु भन्दा सदियौँ वर्ष अघि देखि गोरुले खाध्यन्न उव्जनी गर्न सहयोग गर्दथे । कुनै पनि विउ विजन रोप्नु भन्दा पहिले गोरुलाई जोतेर मात्र लगाउने गरिन्थ्यो । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गर्ने गरिन्छ ।

प्राचिन समयमा आफ्नो विशेष धन नै गाइवस्तुलाई मानिन्थ्यो । त्यसबेला सबैले धेरै धेरै बस्तुभाउ पाल्ने गर्दथे । ती सबै वस्तुभाउको रक्षा गर्ने गोरु वा साँढे नै हुने गर्दथ्यो । त्यसकारण पनि गोरुलाई अरु जनावर भन्दा विशेष हेरचाह गरिन्थ्यो । र वर्र्षको एक दिन गोरुलाई पनि मिठो मिठो घाँसहरु खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने मान्यता रहेको छ । किनकी हिन्दुधर्म शासत्रहरुका अनुसार गोरु अर्थात् साँढेलाई धर्मको प्रतिक मान्ने गरिन्छ । आजको दिन गाइ र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ ।

त्यसैगरि आज द्वापर युगमा अवतरित हुनुभएका भगवान् श्रीकृष्णको संझना मा  गोवद्र्धन पुजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहंकारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवद्र्धन पुजाको थालनी गर्नुभएको थियो । त्यसबेला देखि हरेक वर्ष कार्तिक शुक्ल पक्षको पहिलो दिन अर्थात् प्रतिपदामा गोवद्र्धन भगवान्को पूजा गर्ने गरिन्छ । गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवद्र्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरु चढाएर गर्नु पर्दछ भन्ने शास्त्रिय मान्यताहरु रहेका छन् । गोवद्र्धन पुजा गर्दा दही, नौनी, आदि अनिवार्य रुपमा हुनुपर्दछ ।  श्रीमद् भागवत महापुराण, देवी भागवत, विष्णुपुराण लगायतका ग्रन्थहरुमा यस विषयको ठूलो चर्चा भएको पाइन्छ ।

आजको दिन नेवारी संप्रदायहरुमा म्ह पूजा  गर्ने गरिन्छ । आफुमा रहेको इश्वरलाई चिन भनेर , आत्ममा रहेको भगवान् को पुजा गरिने कुरा नेवारी संप्रदायका वृद्ध व्यक्तिहरु बताउँछन् । आज देखि नै नेपालको मौलिक संवत् परिवर्तन हुने गर्दछ । आजबाट नेपाल संवत् १९३८ प्रारम्भ भएको छ । नेपालको मौलिक संवत मानिने यस संवत्को आज पहिलो दिन हुने भएकाले हरेक वर्ष  कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि देखि नेपाल संवत् शुरु हुने गर्दछ र यस दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।

कार्तिक माहात्म्य आदि ग्रन्थहरुका अनुसार आजको दिन नै भगवान् शंकरले जुवा को सृष्टी गरेको भन्ने प्रमाण पाइन्छ । जुवाको सृष्टि गरेर पार्वती सँग जुवा खेल्दा सर्ब पावतीले जित्नुभयो र भगवान शिवले जुवा हार्नुभयो । जुवामा हारेको हुनाले विरक्तिएका शिव कैलाश छोडेर गंगाको किनारतिर लाग्नुभयो । कार्तिकेयसँग जब भेट भयो तव भगवान् शंकरले जुवमा हारेको सबै वृत्तान्त बताइ कर्तिकेयलाई जुवा खेल्दा पालन गर्नुपर्ने जुवाको नियमहरुलाई बताइदिइ पठाउनु भयो । यसकारण जुवाको सुरवाती भगवान शंकरबाट नै शुरुवाती भएको मानिन्छ । र साथै साथै जुवा खेलेको अवस्थामा यसरी रित्तिनु पनि पर्छ है भन्ने सन्देश दिएर जानुभएको मानिन्छ ।

आज पनि दिपावली गरेर साँझको समयमा पुरुषहरुले देउसी खेल्ने चलन रहेको छ । साथी भाई जम्मा भइ खेल्ने देउसीको प्रसंग राजा बली र भगवान् विष्णुको अवतार वामनसँग संबन्धित मानिन्छ । वामन भगवानले बलीलाई वाचा बन्धन गराई ३ पाउ जमिन माग्नुभएको थियो । वामन भगवानले  २ पाउ मा नै सारा संसारलाई नापिदिनु भयो । राजा बलीले तेश्रो पाउ दिन नसकेको अवस्थामा के गरौँ भनि सल्लाह माग्दा सबैले शिर देउ अथात् टाउको देउ भनेका थिए । शिर देउ भनेको यही शब्दलाई नै आधार बनाएर देउशिरे खेल्ने प्रचलन आएको हो भन्ने कुरा हिन्दुधर्मका ग्रन्थहरुमा पाइन्छ । यस दिन देउसिरे खेल्न आएका लाई सकेको दान गर्नाले नरायणलाई नै प्राप्त हुने कुरा  धर्मशास्त्रहरुमा पाइन्छ ।

उज्यालो अनलाईनबाट