सिड्नीमा फेरि नेपथ्य ‘उत्सव’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिड्नीमा फेरि नेपथ्य ‘उत्सव’



सिड्नी (अस्ट्रेलिया), साउन ८

सो हुनु अगावै लुना पार्कको ‘बिग टप अडिटोरियम’का सम्पूर्ण टिकट बिकेर हल खचाखच थियो । तीन हजार दर्शकले भरिभराउ सभागृहमा प्रत्येक व्यक्ति नेपथ्यसँग झुम्न तयार थियो भने हरेकका अनुहारमा लोकभाका टिपेर हिँड्ने ब्याण्डले यसपाला के–के कोशेली बोकी ल्याएको छ भन्ने उत्सुकता देखिन्थ्यो ।

‘नेपथ्यको लागि सिड्नी असाध्यै आत्मीय सहर रहँदैआएको छ,’ कन्सर्ट सकिएपछि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘यो चौथो पटक थियो र हरेकचोटी यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको मायाले त्यो अपनत्व अझ बढेको महसुस गराउँछ ।’ प्रत्येक वर्ष नेपथ्यको उपस्थितिलाई सिड्नीवासीले आफैँमा उत्सव जस्तो मनाएको देख्दा आफू यस स्थानका प्रति ऋणी बन्नपुगेको समेत गुरुङले उल्लेख गरे ।

अस्ट्रेलियाको तीनवटा सहरहरूमा श्रृंखलावद्ध प्रस्तुति बोकेर हिँडेको नेपथ्यले सिड्नी कन्सर्टसँगै यस वर्षको यो मुलुकको यात्रा सम्पन्न गरेको छ । अब भने ब्याण्ड आफ्नो साङ्गीतिक जीवनकै पहिलो यात्रा अन्तर्गत प्रशान्त महासागरकै अर्को महत्त्वपूर्ण मुलुक न्यूजिल्याण्डतर्फ जानेछ ।

जुलाई ५ तारिखका दिन अस्ट्रेलिया अवतरण गरेको नेपथ्यले पहिलो प्रस्तुति मेलबर्नमा दिएको थियो । त्यसपछि अझ दक्षिणवर्ती सहर एडिलेडको यात्रा सकेर ब्याण्ड उसको सदैवझैँ अपार दर्शक माया स्वीकार्न सिड्नी आइपुगेको थियो । सहरको विश्वप्रसिद्ध हार्वर ब्रिजको छेवैमा पर्ने विशाल दर्शक क्षमताको लुनापार्कमा शनिवार नेपथ्यले फेरि आफ्ना गीतहरू मार्फत श्रोताको मनमा कब्जा जमाउन सफल भएको छ ।

‘यो समेत गरेर नेपथ्यलाई स्वागत र उसको कार्यक्रम आयोजना गर्नपाएको हाम्रो तेस्रो अनुभव हो,’ आयोजक म्याग्दी ओभरसिजका हरि राम्जाली भन्छन्, ‘नेपथ्यका साथमा भव्यताका साथ कार्यक्रम सफल पार्न पाउँदाको आनन्द जहिले पनि उत्साहजनक हुने गर्छ ।’

‘जब–जब नेपथ्य सिड्नी आउँछ, हरेकपटक उसको आफ्नै पछिल्लो रेकर्डलाई तोड्ने गरेको छ,’ आयोजक समूहकै मुक्ति रोका भन्छन्, ‘सन् २००८ मा युनिभर्सिटी अडिटोरियमको प्रस्तुतिमा १२ सय दर्शकबाट सुरुभएको ब्याण्डले दोश्रोपटक २०१२ को बेला सिड्नी टाउनहलमा २२ सय दर्शक पाएको थियो । लुना पार्कमै २०१५ मा २६ सय दर्शक जुटाएको ब्याण्डले यसपाला भने तीन हजार दर्शकलाई समेट्न सफल भएको छ ।’

सदाझैँ यसपाला पनि नेपथ्य स्वादको आनन्द लिँदै हरेक उमेर र हरेक समूहका मानिस एउटै हलभित्र जम्मा भएका थिए–नाचेका थिए ।

‘यो समेत गरेर नेपथ्यको कन्सर्ट लगालग तेश्रोपटक सिड्नीमा हेर्न पाएँ,’ दर्शकमध्येकै सुशिला शेरचन भनिरहेकी थिइन्, ‘अमृत दाइले हामीलाई कहिल्यै पनि निराश पार्नेगर्नुभएको छैन ।’

अस्ट्रेलियामा बसेर अध्ययन गरिरहेका विद्यार्थीबाहेक यहाँ सपरिवार बसोबास गर्दैआएका थुप्रै पारिवारिक समूह पनि कन्सर्टमा देखिन्थ्यो । सबैका रोजाइमा विविध स्वाद भएता पनि अमृतले दिनेगरेको एकता र राष्ट्रियताका सन्देशहरुले सबैलाई छोएर एकाकार बनाएको थियो ।

‘यो त भव्य मात्र नभएर गजबले मोहनीसमेत लगाउने कार्यक्रम पो भयो,’ विजय मल्ल भनिरहेका थिए, ‘यहाँ आयोजना हुने कुनै पनि नेपाली कार्यक्रममा सहभागिता नजनाउने मेरो यो पहिलो नेपथ्य कन्सर्ट अनुभव थियो ।’

परिवारसहित आएको बेलामा यसलाई छोराहरूले पनि उत्तिकै मनपराएको देख्दा असाध्यै खुसी लागेको पनि मल्लले सुनाए ।

कन्सर्टमा नेपथ्यका सदाबहार लोकप्रिय गीतहरू बाहेक ब्याण्डले भर्खरै रेकर्ड गरेका गीतहरू पनि प्रस्तुत गरिएका थिए । नयाँ गीत भएतापनि स्टेजबाट आइरहेको आवाजसँगसँगै दर्शकहरूले पनि गाउँदै र नाच्दै निरन्तरता दिएको देखिन्थ्यो ।

‘नेपथ्य अब साङ्गीतिक कन्सर्टमा मात्र सीमित नरहेर समयसँगै जमघटको उत्सवमय अवसर बन्दैगएको छ,’ ब्याण्डको प्रवद्र्धक तथा प्रस्तुतकर्ता नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीसँग जेजस्ता साधन र श्रोत छ त्यसको अधिकतम प्रयोग गरेर प्रत्येक सोलाई अविस्मरणीय बनाउने प्रयत्न गर्छौँ । त्यसैको प्रतिफलमा हिजो राती बिग टप अडिटोरियम भित्रका सम्पूर्ण दर्शकहरु अपार उत्तेजनामा एकसाथ डुबेका देखिन्थे । ’

स्टेजमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

‘नेपथ्य स्थापनाको रजत महोत्सव मनाउने क्रममा आयोजित पहिलो विदेश यात्रा अपार सफलताका साथ सम्पन्न भएकामा हामी असाध्यै खुसी छौँ,’ अमृत भन्छन्, ‘अब न्यूजिल्याण्डस्थित हाम्रा शुभचिन्तकहरुसँग जम्काभेट गर्न तीव्र छटपटी सुरुभएको छ ।’

प्राकृतिक सम्पदामा अनौठो वन्यजन्तु पाएकै कारण ‘किवीको देश’ भनेर चिनिने न्यूजिल्याण्डको अकल्याण्ड सहरमा नेपथ्य जुलाई २८ तारिखका दिन स्काइ सिटी थिएटरमा प्रस्तुत हुँदैछ ।