आफ्नै गर्भवती श्रीमतीको सामूहिक बलात्कार गराएर हत्या, छोरी मारिँदा आमालाई मतलब छैन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आफ्नै गर्भवती श्रीमतीको सामूहिक बलात्कार गराएर हत्या, छोरी मारिँदा आमालाई मतलब छैन



एजेन्सी। एक गर्भवती महिलालाई आफ्नै श्रीमान्ले आफ्ना २ जना साथीसँग मिलेर सामूहिक बलात्कार गरी हत्या गर्दा मृतक युवतीकी आमाले मतलब नै नगरेको घटनाले निकै चर्चा पाएको थियो । घटनाका ३ जना आरोपीमध्ये २ जना पक्राउ परेका छन् । एक जना भने अझै फरार छन् ।

५ जुलाई २०१७ का दिन भारतको उत्तर प्रदेश प्रहरीले खेतमा एक युवतीको लास भेटेको थियो । पोस्टमार्टममा ती युवती गर्भवती भएको खुलेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा ती युवती हिना तलरेजा भएको खुल्यो । अनुसन्धानमा यी युवतीले आफ्ना श्रीमानलाई लगातार ब्ल्याकमेल गरेपछि हैरान भएका श्रीमानले उनको हत्या गरेको पत्ता लाग्यो । उनका पति अदनान खानले २ जना साथीहरूसँग मिलेर उनलाई सामूहिक बलात्कार गरी मारेर खेतमा फलिदिएका थिए । हत्यापछि तीनैजना मुम्बइ भागेकोमा २ जना ४ महिनापछि पक्राउ परे, एक जना अझै फरार छन् ।

यसरी भएको थियो घटना

मीरपुर निवासी हिना तलरेजा एक हुक्का बारमा काम गर्थिन् । त्यहाँकी संचालिकाले प्रहरीलाई बताएअनुसार हिना आफूलाई पर्सनालिटी मेकर बताउँथिन् । उनको इलाहाबादमा रहेका कैयौँ बारहरूमा निरन्तर आवतजावत थियो । उनलाई रक्सीको लत लागिसकेको थियो र रक्सी पिउन कसैले बोलाएमा उनी जुनसुकै समय जहाँ पनि जान तयार हुन्थिन् । हिनाका साथीहरूमा सहरका कैयौँ धनाढ्यहरू थिए ।

२०१५ मा हिनाको भेट इलाहाबादको शाहगंजका अदनान खानसँग भयो । दुवैको सम्बन्ध गहिरो मित्रता हुँदै प्रेममा परिणत भयो । दुवैले बिहे गर्ने निर्णय गरे । विवाहको लागि हिनाले आफ्नो धर्म परिवर्तन गरेर मुस्लिम बनिन् । यही कारण हिनाकी आमा निलीमा छोरीसँग टाढा रहन थालिन् ।

यो बिहेबाट अदनानका परिवार पनि खुसी थिएनन् । उनीहरूले अदनानलाई पनि दोस्रो विवाह गर्न दबाब दिए । परिवारको दबाबको अगाडि अदनान झुके र उनले दोस्रो बिहे गरे । हिनाले दोस्रो बिहेबारे थाहा पाएपछि उनी निकै रिसाइन् । उनले अदनानविरुद्ध कोहना प्रहरी चौकीमा निवेदन दिएकी थिइन् । यसपछि अदनानले उनीसँग माफी पनि मागेका थिए । अदनानले दोस्रो बिहे गरेपछि यी दुईको सम्बन्ध बिग्रिन थाल्यो । अदनानका अनुसार हिना उनलाई जेल पठाउने धम्की दिँदै ब्ल्याकमेल गर्थिन् ।

४ जुलाई २०१७ का दिन अदनानले हिनालाई एक होटेलमा बोलाए । अदनान आफ्ना साथीहरू बिकेकी र खालिदसँग हिनालाई भेट्न गए । होटेलबाट अदनान हिनालाई लिएर हाइवेमा निस्किए । त्यहाँ सुनसान ठाउँमा गाडी राखेर उनले साथीहरूसँग मिलेर हिनालाई सामूहिक बलात्कार गरे । त्यसपछि उनको टाउकोमा गोली प्रहार गरे । हिनाको बच्ने सम्भावना बाँकी नराख्न उनले चक्कुले गोलीको घाउ अझै ठूलो पारे । हत्यापछि अदनानले हिनाको पर्स र मोवाइल लिएर साथहिरुसँगै त्यहाँबाट मुम्बइ भागे ।

भोलिपल्ट प्रहरीले शव भेटेपछि प्रहरीले अनुसन्धान थाल्यो । ९ जुलाइसम्म शवको पहिचान नखुलेपछि शवको पोष्टमार्टम गरियो । पोष्टमार्टममा उनी गर्भवती रहेको र उनीसँग सामूहिक बलात्कार भएको पुष्टि भयो । १० जुलाइका दिन प्रहरीले शवको अन्तिम संस्कार गरिदियो । १२ जुलाइका दिन सामाजिक संजालबाट उनको पहिचान खुल्यो । प्रहरीले १४ जुलाइका दिन उनकी आमा निलिमा तलरेजालाई भेट्यो ।

प्रहरीका अनुसार आमा निलिमाले छोरीसँग आफ्नो कुनै मतलब नभएको बताएकी छिन् । प्रहरीका अनुसार निलिमाले प्रहरीसँग भनेकी थिइन् ‘ऊ मर्नुभन्दा पहिले पनि मसँग झुट बोलेर गएकी थिइ । मैले कुनै उजुरी दिएकी पनि छैन । प्रहरीले आफैं वादी बनेर मुद्दा अगाडि बढाएका छन् । मलाई यस बारेमा कुनै कुरा गर्नु छैन । यसले मरिसकेर पनि मलाई दुःख दिइरहेकी छ ।’