‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै



कैलाली, धनगढी  । रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । रोटरी क्लब अफ धनगढीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमबारे जानकारी दिएको छ ।

आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहनुभएका व्यक्तिहरुलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिए ।

दिन पनि रातसरह अन्धकार भएकाहरुलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्ने महसुस समाजका विभिन्न वर्ग र पक्षलाई गराउन रात्रिभोजको आयोजना गरिएको रोटरी क्लब अफ धनगढीका कार्यक्रमका संयोजक डा गणेशबहादुर सिंहले बताए ।

यस कार्यक्रमका लागि अन्धकार हलमा टेबुल राखिनेछन् । सोही टेबुलमा विभिन्न खानाका परिकार राखिनेछन् । जहाँ प्रकाश हुने छैन ।

सहभागी व्यक्तिले त्यही अन्धकारमा आफ्नो भागको खाना खानु पर्नेछ भने खाना खाने समयावधि ३० मिनेट मात्र छुट्याइएको छ । नेत्रहीनलाई सहयोग गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रममा सहभागी हुन यस क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, सुरक्षा अधिकारी, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई आग्रह गरिनेछ ।

कार्यक्रममा इच्छुक सहभागीबाट रु दुई हजार सहयोग शुल्क लिइनेछ भने उठेको शुल्कबाट संकलित रकम नेत्रहीन व्यक्तिको सहयोगमा खर्च गरिनेछ । रात्रिभोजमा कम्तीमा एक सय जनालाई सहभागी गराउने योजना छ ।

कार्यक्रम माघ ६ गते शनिबार धनगढीस्थित होटल रुवसमा साँझ ७ बजे आयोजना गरिने छ ।