'एक्सन अन द स्पोट'को सुरुवात गर्ने तयारीमा छु :उप प्रमुख चौधरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘एक्सन अन द स्पोट’को सुरुवात गर्ने तयारीमा छु :उप प्रमुख चौधरी



कैलालीको गौरिगंगा नगरपालिकाकी उप प्रमुख हुन अन्चला चौधरी । हामी गौरिगंगा नगरपालिकाको कार्यालय पुग्दा उनी निकै व्यस्त देखिन्थिइन ,फाइलहरू पल्टाउदै सोध्दै थिइन खोइ आइपुग्नु भयो उहाहरु अर्थात् न्यायिक समितिमा उजुरी दिएका वादी र प्रतिवादीको कुरा गर्दै थिइन उनी । अनि हाम्रो टिम पुगेपछि थोरै समय निकालेर हामीले केही कुरा गर्न चाहेको बताएपछि उनले हामीलाई समय दिइन । प्रस्तुत छ गौरिगंगा नगरपालिकाकी उप प्रमुख अन्चला चौधरी सँग हिमाल पोस्टको लागि  प्रकाश मिश्रले गरेको कुराकानी :

नमस्कार स्वागत छ हिमाल पोस्टमा  ।
-धन्यवाद

कसरी अघि बढिरहनु भएको छ ?
-जनताको आशा अनुसार काम गर्ने हिसाबले अघि बढेका छौ । खासमा यो पहिलो वर्ष भएकोले पनि व्यवस्थापनमा बढी समय खर्चिनु परेको छ । अब धेरै थोरै अनुभव साथमा भैसक्यो जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले अघि बढेको छु । आफ्नो कार्यकालको ५ वर्षमा समृद्ध नगर बनाउने योजनाका साथ बढेको छु ।

तपाईँ जनप्रतिनिधि भएर आएपछि के फरक गर्नुभयो? र गर्ने योजनामा हुनुहुन्छ ?
– खासमा अब आउने बित्तिकै पुरै परिवर्तन एकैपटक गरिने कुरा हैन बिस्तारै हुँदैछ । विकासका कामहरू अघि बढेका छन् निरन्तर । हामीले समावेशी विकास कार्यक्रमलाई अगाडि बढाएका छौ त्यसका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य अघि बढिरहेकोछ । ६८ हजार जनसङ्ख्या रहेको नगरपालिका हो हाम्रो अब सबै तथ्याङ्क कागजी रूपमा राख्नु भन्दा सफ्टवेयरमा राख्ने कार्य अघि बढाएका छौ । यो काम जिल्लामै नमुना काम हो ।

अहिले जनप्रतिनिधिहरूको गुनासो छ काम गर्न अप्ठ्यारो भइरहेको छ भनेर आखिर किन ?
– एकदमै सही प्रश्न गर्नुभयो तपाइले पक्कै पनि जनप्रतिनिधिलाई काम गर्न निकै गाह्रो छ । जनताले धेरै आसा राख्नुभएकोले पनि काम भएका कुराहरू नजरमा आउदैनन । अनि अर्को कुरा जनप्रतिनिधिलाई कर्मचारी नहुदा काम गर्न निकै समस्या हुने गरेको छ खासमा । अब हाम्रो नगरपालिकामा पनि सात जना अधिकृत दरबन्दीमा जम्मा एक जना अधिकृतले काम चलाउनु परेको छ । प्रत्येक वडामा वडा कार्यालय खोल्न सकिएको छैन । यिनै समस्याले अलि काम गर्न गाह्रो हुने गरेको हो ।

तपाईँ न्यायिक समितिको संयोजक पनि के कस्ता उजुरी आउछ्न ? अनि कसरी मेलमिलाप गराइरहनु भएको छ ?
-हो उप प्रमुख स्थानीय न्यायिक समितिको संयोजक हुने कानुन अनुसार म गौरिगंगा नगरपालिका स्तरिय न्यायिक समितिको संयोजक हु । जनताको न्यायिक समिति माथि निकै आसा भरोसा छ । यहाँ दिनहु महिला हिंसा , बहुविवाह ,जग्गा विवाद लगायतका उजुरी आइरहेका छन् । र हामीले पनि दुवै पक्षलाई जित जितको अनुभूति हुने किसिमले काम गरिरहेका छौ । यहाँ उजुरी आइसकेपछी कसैलाई पनि जित वा हारको अनुभूति नहोस् भन्ने कुरामा हाम्रो मुख्य ध्यान हुन्छ। हामी सामान्य छलफल गराएर मेलमिलाप गराइरहेका हुन्छौ ।

 तपाइले अरू भन्दा फरक के गर्नु भयो र आगामी योजनामा अलि फरक के गर्न खोज्नु भएको छ ?
– मैले अघि पनि भने जिल्लामै नमुना कामको रूपमा अघि बढाएको छौ । अब अरू नयाँ योजना पनि छन् मेरा जस्तै याहा थुप्रै नदिनाला छन् र नदिनालाको बगरलाई उपयोग गरेर स्थानीय स्तरमा समूह बनाइ तरकारी तथा फलफुल खेती गर्न लगाइ आयस्रोत बढाउन सकिने कार्यक्रम ल्याउने योजनामा छु । अनि अर्को अब छिट्टै उप प्रमुख सँग महिलाको स्वास्थ्य कार्यक्रम लाई लन्च गर्ने तयारीमा छौ ।

यस  कार्यक्रमबाट एउटा नयाँ आयाम थपिने विश्वास छ । जस्तै यसमा नबबिबाहित दम्पतीलाई घरमै गएर स्वास्थय सम्बन्धी जानकारी दिने ,बच्चा जन्माउदा ध्यान दिनुपर्ने कुरा,नियमित चेकजाचका कुरा अनि अर्को त्यस्तो अवस्थामा आमा र शिशुले सरकार बाट पाउने सेवा सुविधाका बारेमा जानकारी लगायत विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका योजना छन् । साथमा एउटा नयाँ कार्यविधि बनाएर” एक्सन अन द स्पोट ” को पनि सुरुवात गर्ने तयारीमा छु ।

के हो नि यो ” एक्सन अन द स्पोट ” ?
– खासमा यो पनि एउटा फरक गर्न प्रयास गरेकी छु । यसमा के हुन्छ भने काम गर्न कुनै मिति कुर्न पर्दैन यदि कार्यविधि पासमा कुनै कानुनी जटिलता भएन भने । यसको मर्म भनेको नगरमा कुनै पनि कुराको आव्स्यक्ता महसुस भयो भने यही कार्यविधिमा टेकेर निर्णय गरेर तत्काल काम गर्न सकिन्छ । कुनै योजना कुरेर बस्नु पर्दैन ।

तपाईँ अनुगमन समितिको संयोजक पनि विकास निर्माणका काममा कसरी अनुगमन भइरहेको छ ? अनि कति काम सकियो त अहिले सम्म ?
– विकास निर्माणका कामको कुरा गर्नुहुन्छ भने हामीले नब्बे प्रतिशत काम सकिसकेको अवस्था हो । सबै वडाले उपभोक्ता समिति बनाएर कामहरू भैसकेको छ । अनि रहयो अनुगमनको कुरा हामीले तीन तहको अनुगमन समिति बनाएका छौ र तिनै तहको अनुगमन सकिएपछि मात्र भुक्तानी गरिने व्यवस्था छ ।