अछाममा छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अछाममा छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु



अछाम ।। अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा छाउपडी गोठमा सुतेकी वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए ।

नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो ।

गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो ।