आफ्नै पिए झपट रावलसँग पूर्वराज्यमन्त्रीको रोचक प्रतिस्पर्धा ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आफ्नै पिए झपट रावलसँग पूर्वराज्यमन्त्रीको रोचक प्रतिस्पर्धा !



 मंसिर १६,काठमाण्डौ । कैलाली क्षेत्र नम्बर २ मा रिपोर्टस क्लब नेपालले संक्रमणकालको अन्त्य नयाँ नेपालको सुरुवात जनताको इच्छा र आकांक्षा जनताकै हात विषयमा साक्षात्कार कार्यक्रम गरेको छ ।

साक्षात्कारमा कैलाली क्षेत्र नम्बर २ का उम्मेदवार मोहनसिंह राठौर र झपट रावल सहभागि थिए ।

पूर्व शिक्षा राज्यमन्त्री मोहनसिह राठौर अहिले कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यसअघि उनी एमालेबाट मन्त्री बनेका थिए । राठौरका प्रतिस्पर्धी रावल भने राठौर मन्त्री हुँदा उनैका पिए थिए । राठौरले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नै पूर्व पिएसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता राठौरलाई नेपाली कांग्रेसको संसदीय समितिको बैठकले प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र नम्बर २ बाट टिकट दिने निर्णय गरेसँगै उहाँको प्रतिस्पर्धा आफ्नै पिएसँग हुने भएको हो ।

संविधानसभाको पहिलो चुनावअघि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री भएका बेला अहिले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका केन्द्रीय सदस्य झपट रावल उहाँका पिए थिए ।

कांग्रेस उम्मेदवार राठौर र वाम गठबन्धनका उम्मेदवार रावलसँग एकसाथ गरिएको बहस कार्यक्रममा दुवै उम्मेदवारले चुनाव आफूले जित्ने दाबी गरे ।

राठौरले कैलालीमा विगतमा विकास निर्माण हुन नसकेको बताउँदै अब आफूले चुनाव जितेपछि जनताको चाहनाअनुसार विकास निर्माणका योजना अघि सार्ने बताए । सुदुर पश्चिमका जिल्लालाई राज्यले नै विकासका लागि प्राथमिकतामा नपारेको बताउँदै राठौरले अबका दिनमा सुदुरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध भएर लाग्ने बताए ।

अर्का उम्मेदवार रावलले भने राठौर सेवाका लागि नभै पदका लागि उम्मेदवार बनेको आरोप लगाए । पछिल्लो पाँच वर्षमा जनप्रतिनिधिको रुपमा रहँदा पनि राठौरले केही काम गर्न नसकेको आरोप रावलको छ ।

काम गर्न नसक्ने भएपछि राठौरले अब चुनावमा उम्मेदवार दिनुको कुनै अर्थ नहुने भन्दै रावलले बाटो छोड्न सुझाब दिए ।

कैलालीमा विकास निर्माणका धेरै योजना ल्याउनुपर्ने भएकाले त्यसका लागि आफू उम्मेदवार बनेको रावलको तर्क छ । वाम गठबन्धनप्रति जनमत धेरै भएकाले आफूले चुनाव जित्ने ठोकुवा रावलले गरे । उनले प्रतिस्पर्धीलाई आराम गर्नसमेत सुझाब दिए ।

राठौरले भने रावलको तर्कको खण्डन गर्दै आफूप्रति जनताको माया र सम्मान भएको बताए । वामपन्थी गठबन्धनले लिएको बाटो गलत भएको अर्थ लगाउँदै राठौरले लोकतान्त्रिक गठबन्धन शान्ती, विकास र संविधान कार्यान्वयनका लागि भएको प्रष्ट पारे ।

दुवै नेताबिच आफ्नो गठबन्धनको औचित्य पुष्टी गर्नका लागि वादविवाद नै चल्यो । रावलले भने मुलुक लामो समयसम्म अस्थिरतामा रुमल्लिएको बताउँदै वाम गठबन्धन नै देशका लागि हितकर हुने दाबी गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा आवश्यक सबै भौतिक पूर्वाधार निर्माणका लागि आफू प्रतिवद्ध रहेको रावलको जिकिर छ ।

नेकपा एमाले केही व्यक्ति र शक्तिको घेराबन्दीमा परेको बताउँदै राठौरले एमालेमा रहँदा जनताको हितमा काम गर्ने वातावरण नभएकाले कांग्रेसमा प्रवेश गरेको बताए ।
प्रतिनिधिसभाको टिकटसहित कांग्रेस प्रवेश गरेका राठौरले आफूलाई आफ्नै दलका ठूला नेताहरुले लखेटेकाले कांग्रेस प्रवेश गरेको बताएका छन् ।