सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ



बैतडी, पुस २४ गते । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि गाडी नै चल्न सकेका छैनन् उहाँले भन्नुभयो – “राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ” केही बेरपछि जेसिवी डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइने प्रहरीले बताएको छ ।

राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाँै र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् । यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ ।

वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन् ।

लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् । रासस