सहकारीको लगानीबाट ढुङ्गेबगर हराभरा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सहकारीको लगानीबाट ढुङ्गेबगर हराभरा



पथरी (मोरङ), असोज ५ गते  । ढुङ्गेबगरलाई हरियालीमा परिणत गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छन् । तर अब पत्याउनै पर्ने भएको छ । सामूहिक प्रयासमा जुट्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ ।

धर्तीमाता सहकारीले सहकारी खेती सुरु गरेपछि चिसाङ खोलाको ढुङ्गेबगरमा अहिले हरियाली मात्र छाएको मात्र होइन बायो–इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरिएको छ ।

सहकारीका अध्यक्ष गोपाल खड्काका अनुसार खोलामा बायो–इन्जिनियरिङ, वृक्षरोपण र खोलामा तटबन्ध गर्ने र सो क्षेत्रमा खेती गर्ने उद्देश्यले एक करोड ५० लाख रुपैयाँमा सहकारीले १२ बिगाहा ढुङ्गेबगर खरिद गरेको थियो । विसं २०७१ मा स्थापना भएको सो सहकारीले सुरुका दिनमा खोला किनारको ढुङ्गेबगर खरिद गर्दा अधिकांश सेयर सदस्यले असन्तुष्ट थिए । तर चिसाङ खोला किनारको खोलासँगै जोडिएको दुई बिगाहा १० कट्ठा बगरमा वृक्षरोपण गरेपछि अहिले सो क्षेत्र हराभरा भएको छ ।

सहकारीले हाल पाँच बिगाहा खेतमा आधुनिक प्रविधिबाट धान रोपेको छ । यस्तै मेवा र कागतीका लागि दुई बिगाहा क्षेत्रफल छुट्याइएको छ । एक पङ्क्तिमा कागती र अर्कोमा मेवा रोपिएको छ । दुई बिगाहामा कागतीका ३०० बिरुवा र मेवाका २०० बिरुवा रोपिएका छन् ।

त्यसैगरी, अलि डाँडो जग्गामा ५० वटा आँपका बिरुवा पनि रोपिएका छन् । एउटै जग्गामा आँप, कागती र मेवाको व्यावसायिक खेती पूर्वमा पहिलोपटक सुरु गरिएको बताइएको छ । अध्यक्ष खड्काका अनुसार बाख्रा, बङ्गुर र गाईपालनका लागि अलग–अलग गोठ निर्माण कार्य भइरहेको छ । गाई र बाख्राका लागि आवश्यक पर्ने विभिन्न जातको घाँस पाँच बिगाहा खेतमा लगाइएको छ । त्यति मात्र होइन, आधुनिक दाना निर्माणका लागि सहकारीले आफ्नै प्रविधिज्ञको पनि उत्पादन गरिरहेको छ ।

संस्थाका सचिव नीलमणि पराजुलीले आगामी कात्तिकबाट गाई, बाख्रा र बङ्गुर पाल्न सुरु गरिने जानकारी दिनुभयो ।

सेयर सदस्यहरूले अघिल्लो साधारणसभामा १२ बिगाहा जग्गालाई कृषि तथा पशुपालनको स्रोत केन्द्रका रुपमा स्थापना गर्ने निर्णय गरिसकेको र सोही अनुसार काम भइरहेको अध्यक्ष खड्का बताउनुहुन्छ । रासस