समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त



काठमाडौं ।

२०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार हालसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली काँग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम, नेपालले ३ लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९५ हजार ४४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी, नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४०१ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
तस्बिर रासस