भारतीय एकाधिकार अन्त्य गर्दै, चिनियाँ इन्टरनेट भित्रियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतीय एकाधिकार अन्त्य गर्दै, चिनियाँ इन्टरनेट भित्रियो



नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले सीटीजीलाई पत्राचार गरिसकेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीका अनुसार चिनियाँ इन्टरनेट भित्र्याउन नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘यताबाट आवश्यक तयारी पूरा भएसँगै हामीले पत्राचार गरिसकेको हो’, उनले भने, ‘यो काम अबको एक हप्ता पूरा हुनेछ ।’ नेपालतर्फ धादिङबाट रसुवासम्म झन्डै ९० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । उता चीनतर्फको काम चीनले यसअघि नै गरिसकेको थियो । चिनियाँ इन्टरनेट जोडिएसँगै इन्टरनेटमा भारतको एकाधिकारको अन्त्य हुनेछ ।

अहिलेसम्म नेपालमा भारतीय सञ्चार निगममार्फत भैरहवा, वीरगन्ज र विराटनगर हुँदै इन्टरनेट भित्रिरहेको छ । भारतीय बजारबाट आउने इन्टरनेट टाटा कम्युनिकेसन र एयरटेलको मात्रै छ । छिट्टै सरकारले भारतीय कम्पनी रिलायान्स कम्युनिकेसनबाट पनि नेपालमा इन्टरनेट सेवाको सम्झौता गर्ने जनाएको छ । चाइनाबाट आउने इन्टरनेटको व्यावसायिक सूरुवातसँगै रसुवाको जिलोङ गेटवे हुँदै नेपालमा इन्टरनेट सेवा भित्रिनेछ । रसुवाको जिलोङ हुँदै नेपाल र चीनलाई इन्टरनेटको स्थलमार्गबाट जोड्न आईपी सर्भिस उपलब्ध हुनेछ । यसो हुँदा हाल दुईवटा कम्पनीबाट मात्रै आएको इन्टरनेट अब बाँडिएर चारवटा पुग्नेछ । चिनियाँ इन्टरनेट आएपछि थप सहज र सस्तो हुने दाबी गर्न सकिन्छ ।

यसका साथे अहिलेसम्म भारतबाट आइरहेको इन्टरनेट समुन्द्रको बाटो हुँदै आएको थियो । अब आउने इन्टरनेट जमिन मुनिबाट आउनेछ । यसले इन्टरनेटको व्यान्डविथसमेत राम्रो हुने अधिकारी बताउँछन् । उनका अनुसार इन्टरनेट मर्मतको हिसाबले पनि सहज हुनेछ । ‘चाइनाबाट आउने इन्टरनेट नेपालमा प्रयोग भइरहेको इन्टरनेट व्यान्डविथको तुलनामा पाँच प्रतिशत पनि छैन’, उनले भने, ‘यो सुरु भएसँगै चाइनाबाट आउने इन्टरनेटको ब्यान्डविथ पनि थप्दै जान सकिन्छ ।’ यसले इन्टरनेटको मूल्यमा पनि कमि आउन सक्ने अपेक्षा गर्न सकिन्छ । नेपाललाई इन्टरनेटको ट्रान्जिट बिजनेस गर्ने अवसर पनि प्रदान गर्नेछ । नेपालले भारतको इन्टरनेट चीन र चीनको इन्टरनेट भारतमा बेच्न सक्नेछ ।