भारतमा दोश्रोपटक दलित राष्ट्रपति निर्वाचित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतमा दोश्रोपटक दलित राष्ट्रपति निर्वाचित



नयाँ दिल्ली, साउन ५ । गणतन्त्र भारतको इतिहासमा दोश्रोपटक दलित समुदायबाट राष्ट्रपति निर्वाचित भएका छन् ।

राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै रामनाथ कोविन्द ,गणतन्त्र भारतको १४ औं राष्ट्रपति बनेका हुन । नेशनल डेमोक्रेटिक एलायन्सका उम्मेदवारका रुपमा कोविन्दलाई सात लाख दुई हजार ६४४ भोट प्राप्त भएको थियो । प्रतिष्पर्धी मीरा कुमारलाई भने तीन लाख ६६ हजार भोट मात्रै प्राप्त भयो । सोमबारदेखि देशका ३२ मतदानस्थलमा मतदान भएको थियो ।
दलित आन्दोलनमा चिरपरिचित कोविन्द आस्थाका हिसाबले भने हिन्दू कट्टरवादी भारतीय जनता पार्टीलाई समर्थन गर्दै आएका थिए ।

यसअघि के आर नारायण दलित समुदायका पहिलो राष्ट्रपति बनेका थिए ।

को हुन कोविन्द ?
कोविन्द उत्तर प्रदेशको कानुपर जिल्लाको डेरापुरको सानो गाउँ परौन्खमा जन्मेका थिए । उनी दलित समुदायभित्र कोली जातिका हुन ।
कानुनको पढाई सकेपछि कोविन्दले दिल्ली उच्च न्यायालयमा वकालत प्रारम्भ गरेका थिए । उनी सन् १९७७ देखि १९७९ सम्म दिल्ली हाइकोर्टमा केन्द्र सरकारका अधिवक्ता थिए ।

त्यसपछि सन् २०१५ को अगस्त ८ मा कोविन्दको नियुक्ती राज्यपालका रुपमा भयो । बिहार राज्यपालका रुपमा उनले त्यहाँ सेवा गरिरहेको बेला भारतीय जनता पार्टीले उनलाई राष्ट्रपति पदमा सिफारिस गरेको थियो ।

पेशा गर्दै गरेको बेला सन् १९९९ मा उनी भाजपामा सम्मिलित भएका थिए । सन् १९९४ मा उनी उत्तर प्रदेश राज्यसभाका सदस्य समेत निर्वाचित भए । उनी १२ वर्षसम्म सभासद हुने व्यक्ति हुन ।

दलित आन्दोलनमा समेत उनको नाम उल्लेख्य रुपमा लिइन्छ । उनी भाजपाको भातृ संगठन दलित मोर्चाका राष्ट्रिय अध्यक्ष र अखिल भारतीय कोली समाजका अध्यक्ष पनि भएका थिए ।