प्रदेश ३ मा केन्द्रकै झल्को - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश ३ मा केन्द्रकै झल्को



काठमाडौं-

पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् ।प्रदेशसभामा ‘हेभीवेट’ को बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्कल काटिन थालेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पूर्वमन्त्री एवं एमाले नेता पाण्डे ०४८ सालदेखि (०६४ को संविधानसभा) बाहेक संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेको भावी मुख्यमन्त्रीका रूपमा समेत चर्चा गर्न थालिएको छ । तर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, सानु श्रेष्ठ पनि प्रदेशसभाको उम्मेदवार बनेकाले एमालेले मुख्यमन्त्री कसलाई बनाउँछ भनेर सहज अनुमान लगाउन गाह्रो छ ।

काठमाडौं ९ बाट उपाध्यक्ष शाक्य उम्मेदवार बन्ने चर्चा चले पनि शाक्यले अन्तिम समयमा प्रदेशसभामा जाने निर्णय गरेकी थिइन् । दोलखाबाट प्रदेशसभामा उम्मेदवार बनेका चौलागार्इं र काठमाडौंबाट उम्मेदवार बनेका श्रेष्ठ पनि भावी मुख्यमन्त्रीको चर्चामा छन् । ‘प्रतिनिधिसभा जत्तिकै प्रदेशसभालाई हामी संसदीय अभ्यासको राम्रो स्थल बनाउनेछौं,’ एमाले नेता पाण्डेले भने, ‘३ नम्बर प्रदेशको विकास निर्माणका लागि नीति र योजना बनाउने तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका हुनेछ । जनताले संघीयताको वास्तविक अनुभव र उपभोगको उदाहरणीय काम गर्ने अठोट छ ।’

स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा एमालेको पक्षमा राम्रो नतिजा आएको र माओवादीसँगको गठबन्धनपछि ३ नम्बर प्रदेशमा एमालेको पक्षमा नतिजा आउने भन्दै प्रदेशसभामा गएका सबै ‘हेभीवेट’लाई मुख्यमन्त्री भन्दै उनीहरू निकटले चर्चा चलाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ (क) को प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको भीडमा स्थापित पनि चर्चामा छन्।