पार्टी एकताका लागि दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पार्टी एकताका लागि दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी



निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत पार्टी तथा सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विवादमा छन्। एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लचक देखिएका छन्। तर दोस्रो तहका नेता भने आपसमा विवादास्पद अभिव्यक्ति दिइरहेका छन्।

ओली र दाहाल एकले अर्कालाई नेतृत्व सहजै छोड्नसमेत लचक छन्। तर दोस्रो तहका नेताले भने आफ्नै दलबाट नेतृत्व गरिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। एकताको क्रममा आलोपालो नेतृत्व गर्ने, सामूहिक नेतृत्व गर्ने वा एक पार्टीले सरकार र अर्को पार्टीको नेतृत्वमा पार्टी संगठन चलाउने भन्ने विषयमा नै छलफल बढी केन्द्रित बनेको छ।

दोस्रो तहका नेताहरू विवादित अभिव्यक्तिमा केन्द्रित भइरहँदा एकताकाका लागि गठित पार्टी एकता संयोजन समितिको शनिबार बस्ने तय भएको बैठकसमेत बस्न सकेन।

राजधानीमा आयोजित कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले शनिबार नै संयोजन समितिको बैठक बस्दै गरेको सार्वजनिक गरेका थिए। माओवादी नेताहरूका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौंबाहिर रहेका कारण उच्चस्तरीय बैठक बस्न नसकेको बताइएको छ।

पार्टी एकताका पक्षमा दुवै पार्टीका दोस्रो तहका नेता भने शंकालुसमेत देखिएका छन्। पार्टी एकतापछि आफ्नो पोजिसन, आगामी राजनीतिक भविष्य तथा कतिपयका व्यक्तिगत स्वार्थमा जोडघटाउ गरेकाले पनि दोस्रो तहका नेताहरू पार्टी एकतामा सशंकित देखिएको पाइएको छ।

तेस्रो तहका नेताहरू भने पार्टी एकताको सहयोगी भूमिकाका रूपमा प्रस्तुत भएका छन्। उनीहरू तत्काल पार्टी नेतृत्व तहमा नपुग्ने र एकता हुँदानहुँदा पार्टी पोजिसनमा खासै फरक नपर्ने भएर पनि पार्टी एकतामै बढी केन्द्रित छन्।

दुवै पार्टीका तल्लो तहका कार्यकर्ताहरू भने पार्टी एकताका पक्षमा नै जोड दिइरहेका छन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम हुँदै कार्यकर्ता भेटघाटमा समेत उनीहरू एकताका पक्षमा दबाब दिइरहेका छन्।

दोस्रो तहका नेताले केही विवादास्पद किसिमका अभिव्यक्ति दिएपछि कार्यकर्ता भने अलमलमा छन्। यसअघि नौ–नौ महिनामा सरकार फेरबदल भइरहेको पीडा खेप्दै आएका सर्वसाधरण भने पार्टी एकताप्रति उत्साही देखिएका छन्।

दुवै दलका नेताहरू भने दुवै दलका सिंगो पार्टी कमिटी एकताको पक्षमा रहेको र सिद्धान्त र नेतृत्वमा पनि खासै विवाद नरहेको दाबी गर्छन्। उनीहरू को एमाले र को माओवादी भनेर बिर्सिसकेको दाबीसमेत गर्छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले एकीकृत पार्टीको नेतृत्व ओली र दाहालले गर्ने बताउँदै एकता छिट्टै हुने र एकता गर्दा नेताको भूमिका तथा योगदानलाई ध्यानमा राखेर हुने बताउँछन्।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक राई दुवै पार्टीको बैठकबाट पार्टी एकताका लागि सैद्धान्तिक, वैचारिक तथा नेतृत्वको विषयमा मापदण्ड तय भएको र सोहीअनुसार छलफल अघि बढिरहेको बताउँछन्। उनले एक साताभित्र पार्टी एकीकरण हुने दाबीसमेत गरे।

नेताहरू नेतृत्व विषयमा विवाद नभएको दाबी गरे पनि दुई दलका शीर्ष तहका नेताले सार्वजनिक रूपमा सिद्धान्तभन्दा बढी नेतृत्वको विषयमा अभिव्यक्ति दिँदै आएका छन्।

एमाले महासचिव ईश्वर पोखरेल एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुपर्ने बताउँदै आएका छन्। माओवादी केन्द्रका नेताहरू भने प्रधानमन्त्री ओली हुनुपर्ने र पार्टी अध्यक्ष दाहाल हुनुपर्ने पक्षमा देखिन्छन्। नेतृत्वका विषयमा दुवै दलबाट फरकफरक अभिव्यक्ति सार्वजनिक भइरहँदा पार्टी सिद्धान्त तथा विचारको विषय भने सतहमा देखिएको छैन।