दिल्लीमा देउवालाई खुसी पार्दै मोदी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दिल्लीमा देउवालाई खुसी पार्दै मोदी



नयाँदिल्ली :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् ।
पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज’ दिएका हुन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।

नेपाली पक्षले मोदीको आग्रहमा उत्साहप्रद भेटवार्ता भएको प्रतिक्रिया दिएको छ । ‘दुई मुलुकबीच उच्चस्तरमा भएको यसखालको भेटले हाम्रो सम्बन्धलाई नयाँ आयाम दिने विश्वास गर्न सकिन्छ । किनकि यसखाले भेट विरलै हुन्छ । मोदीको आग्रहमा आकस्मिक भेट भएको हो’, भ्रमण दलमा सहभागी देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले भेटपछि ट्विटमा भनेका छन्, ‘निकट र मित्रवत छिमेकी नेपालका प्रधानमन्त्री देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु । भोलि हुने बृहत् कुराकानीको प्रतीक्षामा छु ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीले नेपालसँगको सम्बन्धलाई महत्व दिएकाले यस किसिमको भेट भएको बताए । ‘यो मोदीजीको प्रधानमन्त्री देउवाप्रतिको जेस्चर हो’, उनले भने, ‘भारतले नेपालसँगको सम्बन्धलाई विशेष महत्वव दिएको बुझ्नुपर्छ ।’ उनले देउवा र मोदीबीच के छलफल भयो भन्ने स्पष्ट बताउन चाहेनन् ।

बिहीबार सरकारी तहमा हुने द्विपक्षीय वार्ताको तयारीका लागि मोदी र देउवाबीच सल्लाह भएको उपाध्यायले बताए । ‘यो भेटले मोदीले नेपालसँगको सम्बन्धलाई सकारात्मक सन्देश दिन चाहेको देखिन्छ’, उनले भने । परराष्ट्र मन्त्रालयका अधिकारीहरू देउवा र मोदीबीचको वार्ता आकस्मिक रहेको बताउँछन् । ‘मोदीको आग्रहमा आकस्मिक भेट भएको हो । हैदरावाद हाउसमा बिहीबार मध्याह्न सरकारी तहमा हुने भेटअघि आधा घन्टाका लागि समय निर्धारण गरेका थियौं’,

प्रधानमन्त्री देउवा पत्नी आरजुसहित ५० सदस्यीय प्रतिनिधिमण्डलका साथ बुधबार बिहान ११ः१५ मा दिल्ली आएका हुन् । उनलाई बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।’

प्रधानमन्त्री दम्पतीलाई राष्ट्रपति रामनाथ कोविन्दको विशेष आतिथिका रूपमा राष्ट्रपति भवनमा राखिएको छ । भारत सरकारका केन्द्रीय मन्त्रीहरूले देउवासँग राष्ट्रपति भवनमै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार देउवालाई भारतीय सेनाले राष्ट्रपति निवासमै गार्ड अफ अनर दिनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

बिहीबारै हैदरावाद हाउसमा मोदीसहित सरकारी अधिकारीसँग द्विपक्षीय बैठक हुनेछ । भारत-नेपालबीच विगतमा हस्ताक्षर भई कार्यान्वयनमा आउन नसकेका सम्झौता र सहमति कार्यान्वयनमा छलफल हुने बताइएको छ । त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्नेछन् ।

बैठकपछि विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर गरेर संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैकेया नायडुसँग देउवाले भेट गर्ने कार्यक्रम छ ।