जाजरकोटको मतदान केन्द्रमा दोहोरो झडप, वडा अध्यक्ष अपहरणमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जाजरकोटको मतदान केन्द्रमा दोहोरो झडप, वडा अध्यक्ष अपहरणमा



जाजरकोट, १० मंसिर 

कुशे गाउँपालिका ८, अवलरिजा मतदान केन्द्र नजिकै दोहोरो झडप हुँदा दर्जन घाइते भएका छन् । बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको हो ।

झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाइते भएका छन् । घाइतेमध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुटा भाँचिएको छ ।

झडपमा परेका मदन लगायत ४–५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए । घाइतेको उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाइतेको अवस्था गम्भीर छ ।

समयमा उद्धार नभए घाइतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएको उनको भनाई छ ।

उक्त मतदान केन्द्रमा हालसम्म २०–२५ जना बाहेकले मतदान नगरेको बताए । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाइते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान शुरु भएको ४ घण्टामा २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीय कालीबहादुर सिंहले बताए ।

तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरण मुक्त हुन सकेका छैनन् ।